बैशाख २१, २०८१, शुक्रबार
               

'मन्त्री बनाइदिनु' भन्नेको आतंकले मानसिक तनावमा प्रचण्ड

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेको बताएका छन् । सबै जना मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको प्रचण्डले बताए । 

उनले भने, 'कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि मन्त्री बन्न इच्छुकहरुको हुलले मलाई घेरेको छ । सबै जना मन्त्री बन्ने होडबाजीमा लागेपछि मलाई थेगीनसक्नु तनाव भएको छ ।'

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन् । 

'मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ । मन्त्री बन्न मकहाँ दबाब दिन आएको हुलबाट उम्केर आएको छु म', उनले भने, 'मन्त्री बनाइदिनु भन्नेहरूको आतंक छ । कसलाई बनाउने, कसलाई नबनाउने मैले । सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ ।'

उनले गठबन्धन सरकारको सदस्यका रुपमा माओवादीको भागमा ७ जनाजति मन्त्री बन्न पाउने अवस्थामा सबैलाई बनाउनै नसकिने अवस्था रहेको उल्लेख गरे ।

'हाम्रो भागमा बढीमा ७ जना मन्त्री हुने हो । तर अहिले सबै सांसदको दौडधूप छ । मन्त्री बनाएन भने सरापेर हिँड्छन् । मन्त्री हुन नपाएपछि  नेतृत्व बदमास भन्छन्', उनले अगाडि भने, 'म ४/५ दिनदेखि ठूलो मानसिक दबाबमा छु, तनावमा छु ।'

उनले कम्युनिष्टहरुले आदर्शका कुरा गरे पनि चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमा अड्किएको बताए । 'हामी आदर्शका निम्ति होइन, पदका लागि कुदेका रहेछौँ', उनले भने, 'कुरा गर्दा आदर्शका गर्ने, चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ । अहिलेको कल्चर भनेको मन्त्री नभए केही नहुने जस्तो भएको छ ।'

यो पनि