चैत १६, २०८०, शुक्रबार
               

शक्ति सङ्गठित गर्दै नेपाल समूह, नयाँ पार्टी गठनको तयारी

ADVERTISEMENT

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलगायतका नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति सङ्गठित गर्न थालेको छ । आफूसहित २२ सांसदलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने तयारी गरेपछि नेपालले विभिन्न समानान्तर संरचना गठन गर्न थालेका हुन् ।

नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेपछि भूमिका दिएर आफ्नै समूहमा टिकाउन भन्दै विभिन्न संरचना गठनमा नेपाल पक्ष जुटेको छ । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता तथा सासंदहरु पछिल्लो समय ओली समूहमा ढल्किएपछि छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका ११ सांसदले त नेपाल पक्षको आग्रह नमान्दै मतदान नै बहिस्कार गरे । 

बिस्तारै आफ्नो शक्ति क्षीण हुँदै गएको विश्लेषण गरेका नेपाल पक्षले नेता कार्यकर्ता टिकाउन आफ्नो सङ्गठन रहेको सन्देश लिन चाहन्छन् । यस कारण अहिले छुट्टै पार्टी घोषणा नगरेपछि विभिन्न संरचना गठन गर्न थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध कारबाहीको दायरा बढाउँदै लगेको भन्दै नेपाल समूह ज्यादती सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको हो ।

यसअघि विभिन्न जिल्लामा समानान्तर कमिटी बनाउन थालेको नेपाल पक्षले बिहीबार ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्युँताउँदै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्युँताउन लागेको हो । 

पीभीको घोषणा आज भक्तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीव राईले जानकारी दिए । त्यसो त नेपाल समूहको अखिलले यूथ फोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

यसअघि भ्रातृ सङ्गठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा सङ्गठन निर्माण गर्न थालेको छ ।  नेपाल समूहले यसअघि नै तीन वटा ठुला भ्रातृ सङ्गठन, युवा सङ्घ, अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घमा समानान्तर कमिटी बनाएको छ । युवा सङ्घको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । 

कहाँबाट सञ्चालित छ नेपाल समूह ?

नयाँ दल घोषणा गर्नुअघि नै सो पक्षले केन्द्रीय कार्यालय भवनको खोजी गरिरहेको छ । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सारेको छ । तर थापाथलीमा अहिले नेपाल पक्ष नेताहरु गएका छैनन् । अव पार्टीमा आफ्नो गुटको छुट्टै संरचना भएपछि नेपाल पक्षले केन्द्रीय कार्यालय समेत काठमाडौंमा राख्ने तयारी गरेको हो । 

आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको नेताहरु बताउँछन् । अहिले भने सो पक्षले नयाँ बानेश्वरस्थित अर्याल होटेलबाटै आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ । आफू पक्षका सांसदको भेलादेखि स्थायी कमिटी बैठक सोही होटेलमा हुँदै आएको छ । आफूले पहिले पार्टी नफुटाउने तर कारबाही गरेपछि मात्रै अलग्गिने भन्दै आएको सो पक्षले दीर्घकालीन अवस्थाको लागि कार्यालयको खोजी गरिरहेको हो ।

नेपाल समूहले ओलीले पार्टीको विधान उल्लङ्घन गरेर आफ्ना गतिविधि गरेको आरोप लगाउँदै आएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा तत्कालीन नेकपालाई पूर्ववत् पार्टीमै फर्काइदिएपछि एमाले ब्युँतेको हो  ।

एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग झलनाथ खनाल र नेपाल समूहको छ । 

सोही अनुसार ओलीले केन्द्रीय कमिटीको दशाैं बैठक बोलाए पनि नेपाल पक्ष गएन । उल्टै अर्को दल काँग्रेसका सभापति देउवालाई विश्वासको मत दिएको छ । नेपाल पक्षले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय अमान्य रहेको बताएको थियो ।

ओलीले माग नसुनेपछि गत चैत ४ र ५ गते खनाल–नेपाल समूहले राजधानीमा आफू पक्षका नेताहरूको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । उक्त भेला रोक्न ओलीले खनाल–नेपाल समूहलाई आग्रह गरेका थिए । तर उनीहरूले भेला नरोकेपछि उनले पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । ओलीलाई स्पष्टीकरण दिनुको सट्टा नेताहरूले उल्टै प्रतिप्रश्नसहितको पत्र पठाएका थिए ।

ओलीले चार नेतालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिसकेका थिए । तर पार्टी एकता कायम राख्न भन्दै सो कारबाही पछि फिर्ता लिइएको थियो । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि