बैशाख १५, २०८१, शनिबार
               

२२ सांसदको स्पष्टीकरणको समय सकिँदै, पार्टीबाट निष्कासनको तयारी

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टीका २२ सांसदलाई कारबाही गर्ने विषयमा निर्णय लिन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

पार्टी नीति विपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही गर्ने निर्णय लिन बैठक बस्न लागेको हो ।

यसअघि ती सबैलाई २४ घण्टे स्पष्टीकरण समेत सोधिएको छ । २४ घण्टे स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीबारे निर्णय हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेताहरूलाई पार्टी निष्कासन समेत  हुन सक्ने एक नेताले बताए । ती नेताले भने ‘उहाँहरूलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने तयारी छ।’

स्पष्टीकरणको जवाफ नदिने नेपाल पक्षको भनाई छ । नेपाल पक्षका नेताहरूले भने स्पष्टीकरणको औचित्य नरहेको बताउँदै यस्ता गतिविधिले आन्तरिक विवाद समाधान हुनुको साटो झनै विवाद बढाउने बताउँदै आएका छन् ।

बैठक सोमबारदेखि जारी छ । ललितपुरस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेको छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्य योजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषयमा छलफल गरिरहेको छ । यसअघिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन समेत आग्रह गरेका छन् ।  

यो पनि