काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले आइटी सेना गठन गरेको छ ।
नवगठित आइटी सेनाको प्रमुख पूर्वमाओवादी नेता प्रभु साह रहेका छन् ।
भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त संगठन घोषणा गर्ने नेता साहले जनाएका छन् ।
एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्ने बताइएको छ । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ ।
त्यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव गरिएको छ ।
'केही साथीहरूको सहयोग लिएर मेरो नेतृत्वमा आइटी आर्मी संगठन निर्माण गरिएको छ', साहले भने, 'यसको औपचारिक घोषणा आज हुन्छ ।'
एमाले पार्टीलाई थप गति प्रदान गर्न यो संगठन बनाएको जनाएको छ । यसअघि एमालेमा युथ फोर्स र साइबर सेनाहरू पनि सक्रिय छन् ।