काठमाडौं । नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।
तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारबाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो ।
केन्द्रीय सदस्यहरू महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरूले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए ।
पार्टीविरुद्ध गएर मतदान गर्नेमाथि कारबाही गर्नुपर्ने एक केन्द्रीय सदस्यले बताए । 'पार्टीको निर्णय नमान्ने र पार्टीविरुद्ध गएर मतदान गर्नेमाथि राजनीतिक रूपमा भने पनि कारबाही गर्नुपर्छ भनेर २४ घण्टे स्पष्टीकरणको प्रस्ताव आयो', ती नेताले भने, 'तर सिंगो हलले तत्कालै कारबाही गर्नुपर्छ भन्ने माग राखेको छ ।'
सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारबाही गर्न नमिल्ने भनेको छ । तर, पार्टीको विधानअनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ ।
सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारी र साधारण सदस्यबाट समेत हटाउने एमालेको तयारी छ ।