अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक पटको बैठक सुरु भएको छ । बैठक तुलसीलाल प्रतिष्ठान ललितपुरमा सुरु भएको हो ।
यो बैठकलाई एमालेले १० औँ बैठक भनेको छ । तर गत असार १८ गते एमालेको १३ औँ केन्द्रीय कमिटी बैठक बसेको थियो । सोमबार बोलाइएको बैठकलाई भने एमालेले १० औँ भनिएको छ । यो भनेको एमाले माओवादी केन्द्रसँग एक भएर नेकपा बन्नुपूर्वको अवस्था हो । माओवादीसँग पार्टी एक भएको दिन २०७५ जेठ ३ गते एमाले केन्द्रीय कमिटीको नवौँ बैठक बसेको थियो ।
त्यसपछि केन्द्रीय कमिटीका दुई वटा मात्रै बैठक बसेका थिए । त्यसैको निरन्तरता भन्दै एमालेले पार्टी बैठक चलाउँदै आएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू भने पार्टी कमिटीलाई जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने बताउँदै आएका थिए । सोही अनुसार यसअघिको बैठकलाई मान्यता नदिएको भन्दै एमालेले सामेमबार १० औँ बैठक भनेको हो ।
बैठकले माधव नेपाल सहित २२ जनालाई कारबाही गर्न सक्ने नेताहरूको अनुमान छ । पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई हिजो मत दिएका थिए । बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका विषयमा व्यापक छलफल हुनेछ । स्थायी कमिटी बैठकले यसअघि पार्टीको निर्णय विपरीत देउवाको पक्षमा मतदान गरेमा त्यस्ता सांसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपाल सहितका २२ जना सांसदलाई आजको केन्द्रीय कमिटी बैठकले कसरी सम्बोधन गर्छ भनेर चासोका साथ हेरिएको छ ।