प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् ।
अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी पनि उपस्थित थिए । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरूको पनि अनुगमन गरेका छन् । अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ ।
मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु। pic.twitter.com/npvaqotgqe
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 19, 2021
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइने छ ।