संसद पुन:स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको सभामुख अग्निप्रसाद सापकोटाले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पुन:स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिलेकाे बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले भने-‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।’
प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको भन्दै उनले यसलाई गतिशील, जीवन्त र जनमुखी बनाउने थपिएको बताएका छन् । उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाका लागि सर्वोच्च अदालतलाई पनि धन्यवाद दिएका छन् ।