काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् ।
नेता नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदलका सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको बताएका छन् ।
नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।'
नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर भएको निर्णयमात्र आधिकारिक हुने गरी दोस्रो अध्यक्षसहितका केही सर्त राखेका छन् । आइतबार कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए ।
१० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अस्वीकार गरेको नेताहरूले बताएका छन् ।
कार्यदलका सदस्य गोकर्ण विष्टले भने १० बुँदेका आधारमा पार्टीमा एकता कायम गर्ने प्रयास जारी रहेको बताए ।