जेठ ०२, २०८१, बुधबार
               

आजबाट संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदै

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । (आज) आइतबारबाट संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुने भएको छ । सर्वोच्च अदालतको आदेशा अनुसार संघीय संसदको अधिवेशन आजबाट सुरु हुने भएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज अपराह्न ४ बजेको लागि अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई सुरु हुन लागेको उक्त अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ लिइएको छ । यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्ने छ ।

यस्तो छ आजको कार्यतालीका

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालीका छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइने छ ।

साथै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यतालीका रहेको छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यतालीका पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले बताए । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रहीआएको छ ।

यस्तै  राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालीका छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा बैठकलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै गत सोमबार पुनःस्थापना गरिदिएर परमादेश जारी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

मंगलबार उनले प्रधानमन्त्रीको शपथ लिएर पद सम्हालेपछि आजबाट पुनः प्रतिनिधिसभा बैठक सुरु हुन लागेको हो । 


कस्तो लाग्यो ?

यो पनि