बैशाख २१, २०८१, शुक्रबार
               

एमाले कार्यदलको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ नेकपा एमाले एकता कार्यदलको निर्देशनपछि राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरेको सडक प्रदर्शन अचानक स्थगित भएको छ । कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न आग्रह गरेपछि शनिबारको सडक प्रदर्शन स्थगन गरिएको हो ।

आज अपराह्न ३ बजे निर्वाचनको पक्षमा नयाँ बानेश्वरदेखि माइतीघरसम्म मार्चपास गर्ने तयारी थियो । तर, एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको निर्देशनपछि कार्यक्रम स्थगित भएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उक्त कार्यक्रम आइतबार स‍ोही समय र स्थानमा हुने बताएको छ ।
एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ ।

शीर्ष नेताहरूबीच छलफलपछि शनिबार साँझसम्म सहमति भइसक्ने अनुमान लगाउँदै ‘एमाले एक रहेको’ सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न निर्देशन दिएको बताइएको छ ।

कार्यदलमा एक-अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि गतिविधिहरू नगर्ने अनौपचारिक सहमति भएको थियो ।

नेपाल पक्षधर विद्यार्थीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने लगायत सडक प्रदर्शन गरिरहेकाले ती गतिविधिसमेत रोक्न सुरेन्द्र पाण्डेले माधव नेपाललाई आग्रह गरेका थिए । तर, नेपाल पक्षले भने कार्यदलको आग्रह अस्वीकार गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि