काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
सोमबार (हिजो) साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजेको लागि फेरि बैठक बोलाइएको माधव नेपाल समूह कार्यदलका नेता भीम रावलले जानकारी दिए ।
उनका अनुसार सोमबारको बैठकमा आन्तरिक विवाद समाधानका लागि गम्भीर छलफल भएको थियो । पार्टी एकता कायम गरेर अघि बढ्ने र त्यसमा दुवै पक्ष थप गम्भीर हुने सल्लाह भएपछि सोमबारको बैठक सकिएको थियो ।
उक्त बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक सकारात्मक भएको जनाएका थिए । आजको बैठकमा सहमतिका मिलनविन्दुहरु पहिल्याउन थप कोशिष गरिने बताइएको छ ।
आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा दुवै पक्षका पाँच–पाँच जना नेता रहेका छन् ।
ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् ।