बैशाख २५, २०८१, मंगलबार
               

आइतबार ओली भेटेका नेता रावल पुगे नेपाल निवास

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ नेकपा एमालेको जारी विवाद मिलान गर्ने सन्दर्भमा आइतबार बेलुकी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन् । 

आइतबार बेलुकी अध्यक्ष ओलीसँग भएको भेट र कुराकानीबारे नेपाललाई ब्रिफिङ गर्न नेता रावल नेपाल निवास पुगेका हुन । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलिसँग भेटघाट गर्न अस्वीकार गरेपछि ओलीले रावललाई आइतबार बेलुकी बालुवाटार बोलाएका थिए ।

अध्यक्ष ओलीसँगको भेटबारेमा कुराकानी गर्न रावल नेपाल निवास पुगेको एक नेताले बताए । ती नेताले भने, 'हिजो अध्यक्ष ओलीसँग भएको वार्ताका विषयमा छलफल गर्न भीम रावल नेपाल निवास पुग्नु भएको छ ।' 

शनिबार भएको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिस्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको समयसीमा सोमबार बेलुकी ५ बजे सकिदैछ ।

त्यसअघि नै सहमति जुटाउन एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । आइतबार पनि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउन नेताहरूले प्रयास गरेका थिए । तर नेता नेपाल अनिच्छा देखाएपछि भेटवार्ता हुन सकेको थिएन ।

नेपालले भेट्न अस्वीकार गरेपछि ओलीले नेपालका विश्वासपात्र नेता रावललाई भेट्न बालुवाटार डाकेका थिए । ओलीसँग आइतबार भएको भेटवार्ताको विषयमा नेता नेपालसँग रावलले ब्रिफिङ गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि