मंसिर ०७, २०८१, शुक्रबार
               

ओलीलाई भेट्न नेपालद्वारा अस्वीकार

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

नेकपा एमालेको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय छन् । विवाद समाधान गर्न एमालेका दोस्रो तहका नेताहरू सक्रिय भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले रुचि नदेखाउदा एकता अनिश्चित बन्दै गएको छ । 

असन्तुष्ट पक्षलाई समेटेर पार्टी जोगाउन भन्दै एमाले अध्यक्ष ओलीले यसअघि गठन गरिएको १० औं महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै असार १८ र १९ गते केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । तर उक्त बैठक असन्तुष्ट माधव नेपाल पक्षले बहिष्कार गरेको थियो । बालुवाटारमा पार्टीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सोमबार बेलुकी ५ बजेसम्म फिर्ता लिन अल्टिमेटम दिएका थिए । ओलीले प्रतिनिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आउदासम्म विपक्षी गठबन्धनको मोर्चामा हस्ताक्षर कायम राख्नेहरू एमाले नभएको समेत प्रष्ट पारेका छन् । उनले माधव नेपाल पक्षलाई पार्टीले धेरै कुरेको भए पनि अब कुर्न नसक्ने समेत स्पष्ट पारेका छन् । 

पार्टी विवाद मिलाउन भन्दै शनिबार पनि दुवै समुहका नेताहरूले छलफल गरेका थिए । तर उक्त छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि अध्यक्ष ओली र नेता नेपालले टेलिफोन संवाद गरे पनि कुनै सकारात्मक प्रगति भएन । टेलिफोन संवादका क्रममा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए तर नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान लिएपछि कुरा मिल्न सकेन । 

यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीललाई भेट्न अस्वीकार गरेका छन् । आइतबार बिहानैदेखि एमालेका दोस्रो तहका नेताहरू ओली र नेपालबीच भेटवार्ता गराउन सक्रिय भएका थिए । तर नेता नेपाल अनिच्छुक रहदा भेटवार्ता सम्भव रहेन । आइतबार विहान ओली पक्षका नेताहरू सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुगेका थिए । उक्त भेटमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित थिए । एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् । 'माधव कमरेडकोमा हामी गएका थियौं । म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो', उनलेे भने, 'हामीले के आग्रह गर्‍यौं भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाऔं । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं । भनेर हामीले प्रस्ताव राख्यौं ।'

नेता पौडेलले थपे-'उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दे जाऔं भनेर हामी उठ्यौ ।'


कस्तो लाग्यो ?

यो पनि