मंसिर ०७, २०८१, शुक्रबार
               

पाँच बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा एमालेको १३ औँ केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा शनिबार पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेस गरेका थिए ।

दुई दिनसम्म चलेको बैठकले पाँच बुँदे संगठनात्मक योजना पारित गर्दै सम्पन्न भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने बैठक बहिष्कार गर्दै अनुपस्थित भएका थिए ।

यी हुन् बैठकले पारित गरेका संगठनात्मक योजनाः

१. असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने । साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने ।

२. आगामी साउन २५-२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव ।

३. पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिकास्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।

४. पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध गर्ने ।

५. सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेता/कार्यकर्तालाई अनुरोध गर्ने ।  


कस्तो लाग्यो ?

यो पनि