नेकपा एमालेको जारी १३ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा महसचिव ईश्वर पोखरेलले पार्टीको सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् ।
बैठकलाई एमाले बरिस्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले भने बहिष्कार गरेको छ । नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै शुक्रबारदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठक जारी रहेकै अवस्थामा शनिबार एमालेका दुवै समूहका दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि सहमतिको प्रयास गरेका थिए । सहमतिका लागि ललितपुरस्थित समिट होटेलमा छलफल भए पनि कुनै सहमति भने निस्किन सकेन । उक्त छलफलमा नेपाल पक्षका नेताहरुले अहिले जारी केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए ।
बैठकमा सहमति नजुटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपालबीच फोन संवाद भएको थियो । तर फोन संवादमा पनि कुनै सहमति नजुटेपछि नेपाल पक्ष बालुवाटार बैठकमा सहभागी भएको छैन ।