काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको ललितपुरस्थित होटल समिटमा जारी दुवै पक्षका दोस्रो तहका नेताहरुको छलफल सकिएको छ । शनिबार बिहानैदेखि शुरु भएको छलफलमा पार्टी एकताको प्रयास भइरहेका बेला जारी पार्टीको बैठक नगर्न वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरूले आग्रह गरेका छन् ।
यता, एकता प्रयास जारी रहेका बेला उता बैठक बस्दा एकतामा असर पुग्ने भन्दै बैठक नबस्न आग्रह गरेको नेपाल समूहका एक नेताले नेपाल फ्ल्यासलाई जानकारी दिए । 'यता हामी पार्टी एकताको प्रयासमा लागिरहेका छौ', ती नेताले भने, 'एकता प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं । उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ ।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको १३औं केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि बालुवाटारमा जारी छ ।
हस्ताक्षर फिर्ताबारे छलफल भएन
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सोमबार बेलुकीसम्म फिर्ता लिन नेपाल पक्षलाई अल्टिमेटम नै दिएका छन् ।
तर, आज बसेको दोस्रो तहका नेताहरुको छलफलमा हस्ताक्षर फिर्ताबारे छलफल नै भएन । आफूहरूले हस्ताक्षर फिर्ता नगर्ने यसअघि नेपाल पक्षीय नेताहरूले बताइसकेका छन् ।
छलफलमा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल सहभागी थिए भने नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी थिए ।