काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको १३ औं केन्द्रीय कमिटीको बैठकमा शुक्रबार असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल पक्ष सहभागी भएनन् । नेपाल-खनाल पक्ष बैठकमा अनुपस्थित भएपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएका छन् ।
एमाले एकताको सम्भावना सकियो भनेर कतिपयले अड्कल गरिरहेका बेला एमालेका दोस्रो तहका नेताहरू निरन्तर संवादमा लागिपरेका छन् । पार्टीको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज पनि निर्णयक छलफलमा जुटेका छन् ।
वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ । नेताहरूले सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् ।
सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी छन् ।