प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन् ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि योजनाबद्ध आक्रमण भइरहेको बताएका थिए । आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन ।