बैशाख २४, २०८१, सोमबार
               

एमाले विवाद : तीन वर्ष अघि फर्किदा के हुन्छ ?

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएपछि पार्टी तीन बर्सअघिको संरचना पुग्ने देखिएको छ । १० औँ महाधिशेन आयोजक कमिटी भङ्ग र केन्द्रीय कमिटी व्यूताउने भएसंगै एमाले नवौँ महाधिवेशनबाट निर्वाचित संरचनाले पुनर्जीवन पाउने छ । एमालेले माओवादीसँग एकता गर्नुअघि २ सय ४१ को एमालेको केन्द्रीय कमिटी थियो ।

ओली पक्ष पार्टीको पुरानो कमिटीको बैठक बोलाउन औपचारिक रुपमा सहमत भएपछि पार्टी संरचना यो अवस्था आउन लागेको हो । योसँगै केन्द्रीय कमिटीमा ओली पक्ष हाराहारीमा रहेको माधव कुमार नेपाल पक्ष सक्रिय हुने भएसँगै पार्टीको विवादले नयाँ मोड लिने देखिन्छ ।

जेठ २ मा फर्कदा कहाँ पुग्छ एमाले ?

जेठ २ मा फर्कँदा अध्यक्ष ओली नै यथावत रहनेछन् । वरिष्ठ नेता माधव मार नेपाल र झलनाथ खनाल रहनेछन् ।  उपाध्यक्ष ४ जना रहन्छन् । उपाध्यक्ष बामदेव गौतम अहिले कुनै पक्षमा पनि छैनन् । तर भीम रावल, अष्ट लक्ष्मी शाक्य, युवराज ज्ञवाली भने नेता नेपाल पक्षकै हुन् । अर्को एक उपाध्यक्ष विद्या भण्डारी भने राष्ट्रपतिमा निर्वाचित भएपछि उनको ठाउँ रिक्त छ । ईश्वर पोखरेल महासचिव रहेका छन् ।

फागुन २३ मा एमाले व्युतिएपछि उनको पद पनि व्युतिएको थियो । पछि अरू संरचना ओलीले भत्काए पनि पोखरेलको भने जिम्मेवारी यथावत् राखिएको थियो । यस्तै उपमहासचिव २ जना हुनेछन् । ओली निकट विष्णु पौडेल र नेपाल पक्षीय नेता घनश्याम भुसाल रहनेछन् । 

५ जना सचिवमा पनि नेपाल पक्षकै बहुमत रहनेछ । यसरी कुल १५ पदाधिकारीमा ओली पक्ष अल्पमतमा पर्नेछ । थप २३ स्थायी कमिटीमा समेत नेपाल पक्षको बहुमत छ । महाधिवेशनबाट २०३ जना निर्वाचित भएर आएका थिए । जसमा भने ओली पक्षको बहुमत छ । यस्तै प्रदेश, जिल्ला र पालिका कमिटीसमेत पुरानै कायम हुने  छ ।

बाध्यात्मक अवस्थामा ओली ब्याक ?

नेकपा एमालेको असन्तुष्ट समूह माधव नेपाल र झलनाथ खनालको मागलाई बेवास्ता गरेर एकपछि अर्को निर्णय गर्न  ओली तल्निन थिए । नेपाल–खनालले फागुन २८ गतेपछि नै जेठ २ गतेको कमिटी बोलाउन माग गरेको भए पनि त्यसयताको ४ महिना ओलीले नेपाल–खनाललाई पेलेरै अघि बढेका थिए । 

नेपाल–खनाल समूहलाई पदमुक्त गर्नेदेखि पार्टीबाट निकाल्ने सम्मका खतरनाक कदम चाल्दै आएका थिए । तर अहिले उनै नेपाल–खनालले भनेअनुसार पार्टीको पुरानो केन्द्रीय कमिटीको बैठक बोलाउन तयार भए त ? हरेक निर्णयमा आफू इतर पक्षलाई पेल्दै एकल निर्णयमा लिँदै आएका ओली किन ब्याक भए ? यो विषयमा धेरैको चासो छ । 

पार्टी एकताका लागि लचकता अपनाउने निर्णयअनुसार ओली जेठ २ मा फर्कन तयार भएको ओली निकट नेताहरू बताउँछन् । तापनि संसद विघटनविरुद्धमा अदालतको फैसला आउनै लागेको अवस्थामा ओली ब्याक हुनुलाई अर्थपूर्ण मानिन्छ ।

विपक्षी गठबन्धन काँग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षले प्रधानमन्त्रीमा समर्थन गरेका छन् । नयाँ सरकार बन्न माधव समूह निर्णायक छ । यसैले यदि संसद पुनर्स्थापना भएमा देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित देखिएको छ । जानकारका अनुसार त्यो राजनीतिक समिकण भत्काउनकै लागि भए पनि ओली जेठ २ मा ब्याक हुनुपर्ने बाध्यात्मक अवस्था रहेको केही नेताहरू बताउँछन् ।

पार्टीको अहिलेको संरचना अनुसार प्रवक्ताको जिम्मेवारी दिएका नेता प्रदीप ज्ञवाली भने पार्टी एकता बचाउने अभिभारा पुन गर्न जेठ २ मा फर्कनुपरेको बताउँछन् । ‘एकताकै लागि फेरि अर्को लचकता हो यो, एकता नै मुख्य आवश्यकता हो , अर्को तर्फ अहिले मूलधारमा नरहेका केही कमरेडहरूले पार्टी एकताका लागि त्यो ठाउँमा फर्कियो भने पार्टी एकता जोगाउन सकिन्छ पनि भनेकाले त्यो निर्णय गरेका हौँ,’ ज्ञवालीको भनाइ छ।

आफूले माग गरेको बैठकमा नेपाल आउलान्

पछिल्लो पटक नेता नेपाल विपक्षी गठबन्धनको बैठक भेला छलफल, अन्तरक्रिया, पत्रकार सम्मेलनलगायतमा व्यस्त छन् । ओलीलाई खबरदारी गर्नको लागि भन्दै विपक्षी गठबन्धनले दैनिक जसो कुनै न कुनै कार्यक्रम गर्दै आएका छन् । औपचारिक अनौपचारिक छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओलीसँग फेरि नमिल्न नेता नेपाललार्ई आग्रह गर्दै आएका सुनिन्छ ।

यता नेता नेपाल भने ओली सचिचएर आएमा माफी दिने ठाउँ रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् । तर तीन दिनअघि विपक्षी गठबन्धनलाई धोक नदिने बाचा गरेका नेपाल पार्टीको केन्द्री संरचना अनुसारको बैठकमा ब्याक होलान् की नहोला चासोको विषय बनेको छ । यस विषयमा रणनीति बनाउन नेपाल पक्षीय नेताहरूको आन्तरिक बैठक चलिरहेको छ । ओली पक्षका केही नेताहरूले भने नेपाललगायतका नेता कुनै न कुने बहाना बनाएर नआउन सक्ने अनुमान गरेका छन् । 

पार्टीलाई २०७५जेठ २ मा फर्काउन र एकता जोगाउनका लागि प्रयासरत नेपाल निकट नेता गोकर्ण विष्ट भने सबे पक्ष बेठकमा सहभागी हुनुपर्ने धारणा राख्छन् । उनी भन्छन्  ‘पार्टी र जनसङ्गठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो, सबै सहभागी हुनुपर्छ, विवाद समस्या गुनासो सोही बैठकमा राखेर निर्णय गर्नुपर्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि