मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल पक्षले बादलसहितका नेतालाई अस्वीकार गरेपछि एमालेमा थप छलफल

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विवाद करिब मिलनबिन्दु नजिक पुगेको दोस्रो तहका नेताहरूले दाबी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने सहमति जनाएका नेताहरूको दाबी छ । यद्यपी माओवादी केन्द्रबाट आएका नेताहरूको व्यवस्थापनको विषयमा भने कुरा मिल्न बाँकी रहेको जनाइएको छ ।

पूर्वमाओवादीबाट एमालेमा आएका स्थायी र केन्द्रीय कमिटीमा रहेका सदस्यहरूलाई समावेश गर्ने सर्तसहित २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने ओलीको प्रस्ताव छ । जसलाई नेपाल पक्षले अस्वीकार गरेको छ । नेपाल पक्षले नेकपा माओवादी केन्द्रसँगको एकीकरणभन्दा अघि अर्थात् २०७५ जेठ २ गतेको पार्टी सङ्गठन ब्युँताउनु पर्ने माग गर्दै आएको छ ।

ओली पक्षले रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरूलाई छाड्न नसक्ने बताएपछि थप छलफलका लागि दोस्रो तहका नेताहरू सक्रिय छन् । केही दिनयता केपी ओली पक्षबाट विष्णु पौडेल र माधव नेपाल पक्षबाट घनश्याम भुसाल हरेक दिन जसो वार्तामा छन् । 

ओली र नेपाल पक्षबीचको विवाद मिलाउन सुरुमा कार्यदल गठन गरिएको थियो । तर, त्यसले राम्ररी काम गर्न नसकेपछि दोस्रो पुस्ताका नेताहरूले समूहगत र एक्ला एक्लै छलफल गर्ने गरेका थिए । तर, अहिले भने विवाद समाधानको छलफल दुई नेतामा मात्र सीमित भएको छ ।

सुरुमा दुई तर्फबाट चारचार नेता सम्मिलित कार्यदल गठन गरिएको थियो । जसमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेल थिए । नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका थिए ।

तर, अध्यक्ष ओलीले कार्यदलमा नेपाल पक्षका वार्ता समितिका संयोजक भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेका थिए । रावललाई कारबाही गरेपछि नेपाल पक्षले कार्यदलको औचित्य नभएको निष्कर्ष निकालेको थियो । कार्यदल गठन भएको एक सातामा दुई वटा बैठक भएको थिए । यसपछि दोस्रो तहका नेताहरूबीच सहमतिका लागि छलफल हुँदै आएको थियो । 


कस्तो लाग्यो ?

यो पनि