नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन् । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षलाई समेत बैठकमा समावेश गर्ने गरी बैठकको तयारी छ।
नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो । जेठ ३ गते माओवादी केन्द्र र एमाले एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । केही दिनअघि सर्वोच्च अदालतले समेत महाधिवेशनबाट निर्वाचित कमिटीलाई भङ्ग गरी बनाइएको महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको थियो । सो फैसलाबाट समेत ओलीलाई २ जेठ २०७५ मा पुग्न दबाब छ।
त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरूको भनाइ छ। तर त्यसका लागि नेपाल–खनाल सहभागिताको सुनिश्चितताको खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । उनले नेपाल फ्ल्याससँग भने ‘बैठक आह्वान नै त भइसकेको छैन तर बोलाउने तयारी भइरहेको छ, केही दिनभित्रै बैठक बस्नेछ ।’
नेपाल–खनाल समूहले भने कारबाही जारी नै भएको अवस्थामा एकता सम्भव नभएको भन्दै बैठकमा सहभागी हुने बारेमा केही बताएको छैनन् । ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे सर्तसहित अस्वीकार गरेको थियो ।
एकताका लागि ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई फिर्ता लिनुपर्ने सर्त राखेका छन् । तर नेपाल खनालले सर्त अस्वीकार गरेको छ । नेपालले नयाँ पार्टीको तयारी गरे पनि उनको समूहका दोस्रो तहका नेताहरूले भने एमाले छोड्न नहुने मत राखिरहेका छन् ।