बैशाख २२, २०८१, शनिबार
               

निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास सुविधा र आधा तलव

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

अक्सर राजनीतिज्ञको रहर प्रधानमन्त्री बन्ने, नभए मन्त्री बन्ने हुन्छ । पद र शक्तिमा रहेर शानको बिलासी जीवन जिउने अधिकांश नेपाली नेताहरूमा चाहना देखिन्छ । 

मन्त्री बन्ने सपना पूरा भएपछि भव्य सरकारी क्वाटरमा बस्ने, चिल्लो महँगो गाडी चढ्ने, आसेपासेलाई अघि-पछि लगाउने, आफू निक्कै व्यस्त रहेको देखाउन क्वाटरमा भेट्न आउनेलाई घण्टौँ कुराएपछि बल्ल भेट्नेजस्ता गतिविधि गर्दै आएका भेटिन्छन् । 

अहिले तीनै तहका सरकारमा वामपन्थी अर्थात् सर्वहारा जनताका नेता भनिने कम्युनिस्ट जनप्रतिनिधिहरूको बाहुल्यता छ। तर, यिनै कम्युनिस्ट जनप्रतिनिधिहरूको जीवनशैली अतिसुविधा भोगी छ । आमजनताका समस्या तथा विकासभन्दा आफ्नै सुविधामा उनीहरू केन्द्रित भए भन्ने गुनासो पनि छ।

यसरी भड्किलो जीवनशैली अपनाउँदै आएका जनप्रतिनिधि तथा मन्त्रीहरूको बीचमा फरक पात्र भेटिएका छन् भर्खरै पदबाट हटेका राज्यमन्त्री रामवीर मानन्धर । उनी सहरी विकास राज्यमन्त्री थिए । उनले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायतको कुनै पनि आर्थिक सुविधा नलिएर आफू सच्चा कम्युनिस्ट नेता भएको पुष्टि गरेका छन् । पदमा बहाल रहेको १८ महिनाको आधा पारिश्रमिकसमेत उनले कोभिड उपचार कोषमा जम्मा गरिदिएका छन् । 

पदमा आसीन रहेको १८ महिनाभर कुनै भड्किलो जीवनशैली समेत नअपनाएका उनले आफू साँच्चै जनताको सेवक रहेको सन्देश दिए । 

काठमाडौँ घर भएका कतिपय मन्त्री सरकारी क्वाटरमै बसे । क्वाटरमा नबसी घरमै बस्ने मन्त्रीहरूले आवास सुविधाबापतको रकमसमेत छाडेनन् । तर, त्यसो नगर्ने केपी शर्मा ओली क्याबिनेटका एक्ला  मन्त्री थिए, मानन्धर । 

२०७६ मङ्सिर ४ देखि २०७८ जेठ २१ गते सम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका उनले आवास बापतको सुविधा ७ लाख २० हजार र कार्यालय व्यवस्थापनका सुविधा अन्तर्गत प्राप्त हुने दुई लाख रकमसमेत नौ लाख २० हजार सरकारी कोषमा जम्मा गरिदिए । साथै खर्च भएर नजाने जिन्सी सामानहरू ल्यापटप तथा आइप्याड र सवारी साधनसमेत फिर्ता बुझाइदिए । साथै उनले पारिश्रमिकबापतको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा दिएका छन् । 

पदमा रहँदा आफ्नो चलअचल सम्पत्ति विवरणमा कुनै हेरफेर नभएको उनले बताएका छन् । निवर्तमान राज्यमन्त्री मानन्धरले भनेका छन् ‘ यो अवधिमा पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र चल अचल सम्पत्ति विवरणमा कुनै हेरफेर नभएको समेत अवगत गराउँदछु ।’

मानन्धर विघटित प्रतिनिधिसभाका सांसद हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७० साल देखिनै निरन्तर चुनाव जित्दै आएका छन् । उनले आफ्नो तलबबाट पार्टीको क्षेत्रीय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडासहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेका छन् ।

समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियान पूरा गर्न प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारी दिएको भन्दै मानन्धरले जनताको विकासको चाहना पूरा गर्ने अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

मानन्धरले कोरोना महामारीका कारण समस्यामा परेकालाई आफ्नै व्यक्तिगत प्रयासमा राहत, उद्धार र खाना व्यवस्थापनमा सक्रिय थिए । पदमा रहँदा उनी सहरी विकास मन्त्रालय मातहतका आयोजनाको निर्माणलाई तीव्रता दिलाउन उनी निरन्तर सक्रिय थिए ।


कस्तो लाग्यो ?

यो पनि