जेठ ०५, २०८१, शनिबार
               

'चुरेको अप्राकृतिक दोहनमा पूर्ववर्ती सरकार पनि दोषी'

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले “चुरे पहाड नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोत भन्दै यसको अप्राकृतिक दोहनमा अघिल्लो सरकारहरू पनि दोषी रहेको बताएका हुन्।

उनले भने- 'चुरे संरक्षण गर्नु आवश्यक छ । तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरू पनि जिम्मेवार रहेका छन् ।यसमा विदेशी स्वार्थ रहेको प्रस्ट छ ।' 

सरकारले बजेटमार्फत चुरे दोहनको बाटो खोलेर प्रकृतिसँग खेलवाड गरेको आरोप लागिरहेको बेला बिजुक्छेले अघिल्ला सरकारहरूलाई पनि दोषी करार गरेका हुन् ।

पाँचतले मन्दिर र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्त्वपूर्ण शिक्षालयको रूपमा रहेको उनले बताए ।

अध्यक्ष बिजुक्छेले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरू लथालिङ्ग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रूपमा झन् पछाडि धकेलिएको आरोप लगाए । 

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै बिजुक्छेले भक्तपुर नगरपालिकाले मुख्य–मुख्य स्मारकबारे अध्ययन चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्त्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने बताए ।

पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्ताबेजको रूपमा रहेको बताउँदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरूलाई दक्ष बनाउन आग्नह गरे ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नगरपालिकाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए ।

उनले दरबार क्षेत्रमा ९९ चोक उत्खनन गर्नुपर्ने, भक्तपुरको पुरानो नगरपालिका भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नगरपालिकाले पहल गर्ने विश्वास व्यक्त गरे ।    

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरूको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

- राससको सहयोगमा

यो पनि