असोज ०६, २०८१, आइतबार
               

वीरको अस्पतालको सर्किजल भवनमा कोरोना संक्रमितको उपचार सुरु

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

कोभिड– १९ यूनिफाइड केन्द्रीय अस्पताल वीरको नयाँ सर्किजल भवनमा कोरोनाको उपचार सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भए लगतै प्राडा. जागेश्वर गौतमले नयाँ भवनमा कोरोना सङ्क्रमितको उपचार सुरु गरेका हुन् ।

अस्पतालका सबै कर्मचारीहरूको सहयोगबाट उपचार गर्न  सम्भव भएको गौतमले बताए । ५० बेडबाट उपचार सुरु गरिएको वीरमा बुधबार एक सय बेडमा बिरामीको उपचार गरिने छ । यसै हप्ता अस्पतालको पूर्ण क्षमतामा उपचार गरिने जनाइएको छ । वीरको नयाँ भवन ५०१ बेड क्षमताको छ ।

ट्रमा र पुरानो भवनमा भने नन कोभिडका बिरामीको उपचार हुने गौतमले बताए । अस्पतालमा ३ सय सिलिन्डर अक्सिजन ल्याइएको छ । एक महिनाभित्र अक्सिजन प्लान्ट जडान गर्ने र लिक्विड अक्सिजन प्रशस्तै हुने उनले बताए ।

गौतमले भने ‘सुरुमा वीरमा कोभिड र ननकोभिडको बिरामीको व्यवस्था गर्नेमा मेरो ध्यान केन्द्रित छ । आजदेखि नयाँ भवनमा कोभिडका बिरामीको पनि उपचार सुरु भएको छ ।  केही दिनमा तपाईंहरूले थप काम भएको देख्नु हुनेछ, मलाई सहयोग गर्नुस्, म काममा निकै उत्साहित छु ।’

उनले वीरमा कोरोना उपचार सुरु भएसँगै कोरोना उपचारमा सहज हुने दाबी गरे । जेठ ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । यो अस्पतालको सञ्चालन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि