जेठ ०६, २०८१, आइतबार
               

पहिलो डोज लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन नसकिने

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड लगाएका साढे १३ लाखभन्दा बढी नागरिकले तत्काल दोस्रो डोज नपाउने भएका छन् । सरकारले नै कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाखभन्दा बढी नागरिकलाई तत्कालै दोस्रो डोज उपलब्ध गराउन नसकिने घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. ताराथान पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेटमा डा. पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताएका हुन् । 

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनुपर्ने भएको छ । तर, सरकारले भने ती व्यक्तिलाई अहिलेकै अवस्थामा खोप उपलब्ध गराउन नसकिने बताएको हो । 

विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने जनाएको छ । तर, दोस्रो डोज लगाउनका लागि भारतीय कम्पनीबाट खोप प्राप्त हुन नसकेको डा. पोखरेलेको भनाइ छ । 

सरकारले कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल भइरहेको डा. पोखरेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि