बैशाख १७, २०८१, सोमबार
               

आज १४औँ गणतन्त्र दिवस मनाइँदै

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज देशभर १४औँ गणतन्त्र दिवस मनाइँदै छ ।संविधानसभाको पहिलो बैठकले वि. सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाउदै आइएको छ ।

करिब २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

जहानियाँ राणा शासनको जग्जगीका बेला स्थापना भएको नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाउँदै संविधानसभाबाट संविधान जारी गर्ने योजना सार्वजनिक गरेको थियो । वि. सं. २००७ फागुन ७ गते राजा त्रिभूवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पूरा हुन सकेको थिएन ।

वि. सं. २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन । राजा महेन्द्रले वि. सं. २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासन लादेका थिए ।

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो संघर्षका समयमा संविधानसभाको मुद्दा ओझेलमा पर्यो । वि. सं. २०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो भने यसपछि वि. सं. २०४८ मा संसदीय निर्वाचन भएको थियो ।

तत्कालीन नेकपा (माओवादी) ले वि. सं. २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा संविधान सभाको मागलाई उठाएको थियो । कांग्रेसभित्र पनि संविधानसभा पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो ।

तत्कालीन राजा ज्ञानेन्द्रले वि।सं। २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्‌वादी दल र माओवादीबीच कार्यगत एकता भएको थियो । त्यसैको फलस्वरूप वि. सं. २०६२ मङ्सिरमा संसद्‌वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन सुरु भएको थियो ।

आन्दोलनको मूल मुद्दा वि. सं. २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग गरियो । पुनःस्थापित संसद्‍बाटै संविधानसभा तथा गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्‌वादी दल र माओवादीबीच भित्री सहमति भएको हो ।

कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखले वि. सं. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरे । निर्वाचित संविधानसभाको वि. सं. २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि