मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ती

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर उनीहरुले राजनीतिक र संवैधानिक हिसाबले राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण गर्न अपील गरेका हुन् ।

एक विज्ञप्ती सार्वजनिक गर्दै उनीहरुले भनेका छन्, ‘पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानूनी कठघरामा उभ्याउन माग गर्दछौँ, यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौँ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक संकट सिर्जना गर्दै देशलाई सिक्किमीकरण गर्न उद्दत रहेको उनीहरुले आरोपसमेत लगाएका छन् । विज्ञप्तिमा कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र सम्बद्ध वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपाल ९माधव नेपाल समूह०का अध्यक्ष नरेश कुमार शाही, जसपाको समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष अब्दुस मियाले संयुक्त हस्ताक्षर छ ।


कस्तो लाग्यो ?

यो पनि