बैशाख २५, २०८१, मंगलबार
               

राष्ट्रियसभा उपनिर्वाचन आज, के होला बादलको ब्याटल ?

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज मतदान हुँदै छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज चुनाव हुन लागेको हो ।

चुनावमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा अनि नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार छन् । 

मतदान आज बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ ।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरूप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले सबैमा आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

हेटौँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन भने जेठ १७ गते हुने छ ।

यो पनि