जेठ ०१, २०८१, मंगलबार
               

मदन भण्डारीको त्यो अन्तिम सम्बोधन
‘मुक्तिको महाकाव्यका रचयिता जनता हुन्,

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

२८ वर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म गर्भमै छ ।

पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा विसंं २०५० जेठ ३ गते दासढुङ्गामा भएको गाडी दुर्घटनामा जीवराज आश्रितसँगै महासचिव भण्डारीले जीवन गुमाए । जुन घटना अझै पनि रहस्यमय छ । भण्डारीले दार्शनिक, सैद्धान्तिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सघन रूपमा विचार प्रवाह गरेका छन् । लेखेर र बोलेर उनले विविध विषयमा व्यक्त गरेका  दृष्टिकोणबारे अहिले पनि चर्चा भइरहन्छ । 

२०५० साल जेठ ३ गते नेकपा (एमाले) कास्की जिल्ला सम्मेलनको बन्द सत्रलाई गरेको सम्बोधन नै मदन भण्डारीको अन्तिम सम्बोधन बन्न पुग्यो । सोही कार्यक्रम सकेर पार्टीको जनसङ्गठन अखिल नेपाल महिला सङ्घद्वारा चितवनमा आयोजित कार्यक्रममा जाँदै गर्दा उनी दुर्भाग्यवश भण्डारीको निधन भयो । दुनियाँबाट बिदा लिएको २८ वर्ष भए पनि उनका विचार र दृष्टिकोण अझ अमर छन् । 

मदन भण्डारीले पोखरामा गरेको जीवनकालको अन्तिम सम्बोधन करिब तीन घण्टाको थियो । सम्बोधनमा उनले कम्युनिस्ट सिद्धान्त र यसको बहुआयामिकता, पार्टी सङ्गठन सुदृढीकरणका निम्ति जनतासँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने विषयमा धारणा राखेका थिए । 

साथै, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासका लागि देशको कम्युनिस्ट आन्दोलनको मौलिकपनालाई आत्मसात् गर्नुपर्ने पक्ष, पार्टीले लिएको गन्तव्यमा पुग्न तालिम तथा प्रशिक्षणलाई प्रभावकारी तुल्याउनुपर्ने धारणा, पार्टी निर्णय र यसको कार्यान्वयनले पार्ने प्रभावबारे भाषण गरेका थिए । साथै, नेपाल भारतबिचको असमान सन्धि सम्झौता र राष्ट्रियता सुदृढीकरणजस्ता विषयको उठान गर्दै त्यसको स्पष्ट व्याख्यान प्रस्तुत गरेका कम्युनिस्ट विश्लेषक डा‍ भेषराज अधिकारी बताउँछन् ।

‘मदन भण्डारीले पोखराको सम्बोधनमा अगाडि सारेको महत्त्वपूर्ण सवाल भनेको ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्छ’ भन्ने हो । जीवनको गतिशीलता र सामाजिक सिद्धान्त प्रयोगको अन्तरसम्बन्धबारे उहाँको यो दूरदृष्टियुक्त धारणालाई कसैले चुनौती दिन सक्दैन,’ डा अधिकारी भन्छन् ‘यस बहुआयामिक सूत्रभित्र नै वास्तवमा उहाँको अगुवाइमा प्रतिपादित सिद्धान्त जबजको उद्भव, विकास र गन्तव्यको अन्तर्य वेष्ठित भएको छ ।’ 

सन् १९१७ मा सम्पन्न भएको समाजवादी क्रान्तिको जगमा निर्मित सोभियत मोडेलको समाजवादले धक्का खाएको थियो । पूर्वी युरोपलगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नै रक्षात्मक अवस्थामा धकेलिएको  थियो । सोही पृष्ठभूमिमा कसैले सैद्धान्तिक जडता त कसैले विसर्जनको बाटो समाइरहेकामा सिद्धान्त र जीवनबिचको अन्योन्याश्रित सम्बन्धबारे जननेताको उक्त दृष्टिकोण सटिक, तार्किक र मर्मस्पर्शी रहेको विज्ञहरूको धारणा छ ।

विश्लेषक डा अधिकारी भन्छन्, ‘दिमागलाई सधैँ खुला राखौँ’ । अर्थात् मार्क्सवादको प्रयोग सिर्जनात्मकता गर्नुपर्छ । समकालीन समाजको सही विश्लेषण गर्न नसक्ने अनि सिद्धान्त रक्षाका नाममा पुरानै सूत्रमा टाँसिइरहने कुराले कसरी परिवर्तित सन्दर्भमा सामाजिक क्रान्ति सम्भव हुन्छ ? समाज अर्थात् जीवन गतिशील भएकाले यस परिवेशसँग मेल खाने ढङ्गले मार्क्सवादका अमर सूत्रहरूलाई लागू गर्दा नै क्रान्ति सम्पन्न हुन्छ भन्ने ठोस विश्लेषण जननेता मदन भण्डारीले गर्नुभयो । ’ 

सम्बोधनका क्रममा उनले कम्युनिस्ट पार्टीले जनतालाई शोषणबाट मुक्ति दिलाइदिन्छौँ भन्ने मान्यता गलत भएको भन्दै ‘मुक्तिको महाकाव्यका रचयिता जनता हुन्’ त्यसैले वर्गीय शोषणको जाँतोबाट बाहिर निस्किन जनतालाई प्रशिक्षित गर्ने, सङ्गठित गर्ने र उत्प्रेरणा प्रदान गर्ने कार्य मात्र कम्युनिस्ट पार्टीले गर्ने हो भन्ने दृष्टिकोण अगाडि सारेका थिए । पार्टी र जनसङ्गठनको बिचमा सुमधुर सम्बन्ध हुनु पर्ने कुरा उल्लेख गर्दै एउटा जनसङ्गठन र अर्को जनसङ्गठनका बिचमा समन्वय नगर्ने, एक अर्काको कामको जानकारी नहुनेजस्ता कुराबाट सिङ्गो आन्दोलन जोगिनुपर्ने कुरा उनले गरेका थिए । जस्तो कि अनेरास्ववियूको काम अनेमसंघलाई थाहा नहुने र अनेमसंघको काम अनेरास्ववियुलाई थाहा नहुने हुनुहुँदैन ।  

मदन भण्डारी दासढुंगा घटनाको केही अघि चीनको भ्रमण गरेर फर्किएका थिए । उनी आफू चिनियाँ व्यावहारिक कार्यशैलीबाट प्रभावित बनेको पोखरा सम्बोधनमा समेत बताएका थिए । पोखराकै सम्बोधनमा भण्डारीले ‘जबरजस्त रूपमा एउटा कुरा मनमा लागेको छ’ भन्दै महाधिवेशन र पार्टी कमिटीले गरेका फैसला कार्यान्वयन गर्न सिङ्गो पार्टी अर्जुन दृष्टि दिएर खट्नुपर्छ भनेका पार्टीका नेता बताउँछन् । 

तत्कालीन नेकपा (एमाले) ले संसद्मा टनकपुर सन्धि सम्बन्धमा सङ्घर्ष गरेको प्रसङ्ग उप्काउँदै मदन भण्डारीले देशका प्राकृतिक स्रोत तथा साधनको दुरुपयोग हुन नदिन दुई देशका  बिचमा हुने सम्झौता पारस्परिक लाभका आधारमा हुनुपर्ने कुरामा जोड दिएका थिए ।

असमान सन्धि सम्झौताको विरोध गर्दै जननेताले एक प्रखर राष्ट्रवादी छवि कायम गरेकाले नै तत्कालीन राजा वीरेन्द्रले जननेताको निधनमा सन्देश जारी गर्दै मुलुकले ‘राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञ’ गुमाएकोमा दुःख प्रकट गरेका थिए ।  

 


कस्तो लाग्यो ?

यो पनि