जेठ ०५, २०८१, शनिबार
               

एमाले विवाद : जेठ २ मा फर्किने सहमति जेठ २ मै

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा सुरु गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिनायता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी जेठ २ मै सहमतिउन्मुख भएको छ ।

‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आइतबार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको हो । 

तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा एकता भङ्ग भयो । साबिककै दल नेकपा एमाले र माओवादी कायम हुन पुगे ।

व्यावहारिक रूपले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि एकता भङ्गको दिशामा गएको थियो । हुन त त्यो भन्दा अगाडिदेखि नै नेकपा एकता खलबलिएको थियो । फागुन २३ गते सर्वोच्च अदालतको आदेशले पुरानै पार्टी ब्युँताइदिएपछि नेकपा एकता औपचारिक रूपमै भङ्ग भयो । फेरि नेकपा एमाले कायम रह्यो । तर एमालेमा विवादको नयाँ शृङ्खला सुरु भयो ।

फागुन २८ मा एमाले अध्यक्ष ओलीले अर्को पक्ष माधव नेपाल पक्षको उपस्थिति नरहेको बैठकबाट महत्त्वपूर्ण निर्णय लिए । माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी र लेखराज भट्ट, मणि थापालगायतलाई केन्द्रीय सदस्य बनाए । नेपाल पक्षको बहुमत रहेको पदाधिकारी र स्थायी कमिटी भङ्ग गरे । केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइयो । पछि फेरि ओलीले आफू निकट नेताहरु मात्रै रहेको स्थायी कमिटी गठन गरे । ओली पक्षले विस्तार गरेको स्थायी कमिटीमा बादललाई वामदेव गौतम र ईश्वर पोखरलले पछिको चौथो स्थानको वरीयता दिइएको थियो । 

ओली पक्षको सो निर्णयपछि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले चैत्र ४ र ५ गतेका लागि कार्यकर्ता भेलाको आयोजना गर्‍यो । देशभर समानान्तर कमिटी गठन गर्न थाल्यो । माधव पक्षले जनवर्गीय सङ्गठनमा समेत समानान्तर गतिविधि गर्दै गएपछि चैत १० गते बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) को बैठकमार्फत माधव नेपाल पक्षका ४ जना नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि स्पष्टीकरण सोधियो । चित्तबुझ्दो जवाफ नदिएको भन्दै नेपाललगायत नेताहरू ६ महिनाका लागि निलम्बनमा परे । 

विवाद लम्बिँदै जाँदा संस्थापन पक्षले माधव नेपाल पक्षका ३० जना सांसदलाई स्पष्टीकरण सोध्यो । यत्तिकैमा कर्णाली प्रदेशमा माओवादीका मुख्यमन्त्रीका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई नेपाल पक्षका सांसदहरूले मतदान गरे । यता केन्द्रमा समेत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद बोलाए । नेपाल पक्ष मतदानमा अनुपस्थित भयो । विश्वासको मत लिन नसकेर ओली सरकार ढल्यो । फेरि ओलीकै नेतृत्वमा अल्पमतको सरकार गठन भएको छ ।

तर नाटकीय रूपमा भएका घटनाक्रमले एमाले विवाद फेरि समाधान उन्मुख भयो । नेपाल पक्ष पछिल्लो दिनमा भएका छलफलमा ‘जेठ २’ मै फर्किने सहमति जुटेको बताउँछन् । अझ रोचक विषय त के छ भने केहदिनअघि ओलीलाई विस्थापित गर्न सांसद पदबाट राजीनामा गर्नुपर्छ भनेर कुर्लँदै आएका भीम रावल नै सहमतिका लागि गठित कार्यदलमा एउटा पक्षको संयोजक छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले दुवै पक्षका पाँच–पाँच जना रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् । यस्तै नेपालका तर्फबाट भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदललाई तीन दिनभित्र सहमति गर्नको लागि समय दिइएको छ । कार्यदलले काम सुरु गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि