जेठ ०४, २०८१, शुक्रबार
               

संवादहीनता तोड्न माधव निवासमा पुगे ओली पक्षीय नेता

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्। 

विष्णु पौडेललगायत नेताहरू बिहान नौ बजेतिर नेपालको कोटेश्वरस्थित निवासमा पुगेको र अहिले दुवै पक्षबिच छलफल जारी रहेको छ ।

यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्विप उल्लङ्घन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।

प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

उक्त समय सकिने दिन ओली पक्षीय नेताहरू छलफलका लागि नेता नेपालको निवासमा पुगेका हुन्।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठुलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। 

ओलीलाई त्यसरी प्रधानमन्त्री हुन नदिन नेपाल पक्षका सांसदहरूले  सामूहिक राजीनामा दिने चर्चा चलिरहेको छ।

यसैबिच एमाले अध्यक्ष ओलीले आजै पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्। 

 


कस्तो लाग्यो ?

यो पनि