जेठ ०४, २०८१, शुक्रबार
               

आज नयाँ सरकार गठनको समयसीमा सकिँदै : कस्ले मार्ला प्रधानमन्त्रीको बाजी

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नयाँ सरकार गठनको समयसीमा सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँने भएको हो ।

गत सोमबार प्रतिनिधिसभामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नपुगेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आजकै समय तोकेकी थिइन् ।

विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने तयारी रहेका छन् ।

यसको लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका नेता माधव नेपाल लगायतसँग छलफल गर्ने बताइएको छ । 

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा लागेपछि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीको एकीकृत नीति बनाउन छलफलमा छन् । यता नेपाल–खनाल समूह पनि सांसदबाट राजीनामा दिने अन्तिम तयारीमा रहेको छ ।

जसपाको ठाकुर महतो पक्षलाई नयाँ सरकार निर्माणमा सहमत गराउन नसके नेपाल पक्षको राजीनामाको सहारामा बहुमत पुर्याउने विपक्षीको रणनीति छ । 

आज वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको नयाँ प्रधानमन्त्री नियुक्त गर्नेछन् । देउवाकै नेतृत्वमा बहुमत पुर्याउन प्रयास गरिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । 


कस्तो लाग्यो ?

यो पनि