जेठ ०४, २०८१, शुक्रबार
               

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओली पक्षको दौडधुप तीव्र

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरूको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलहरू जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रयासमा जुटेका छन् । 

काँग्रेसले पदाधिकारी बैठकमार्फत नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

काँग्रेस र माओवादी केन्द्रका नेताहरू अरू विपक्षी दललाई समेत आफ्नो कित्तामा ल्याउने प्रयासमा सक्रिय भएका छन् । अविश्वासको मतका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल नेपाल समूह आन्तरिक छलफलमा जुटिरहेका छन् । 

यसैबिच, एमालेभित्रको आन्तरिक द्वन्द्व कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सक्ने वातावरण कमजोर बन्दै गएको छ । पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने खनाल नेपाल समूहको अडान रहेको छ भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कुनै पनि हालतमा पछि हट्न नसक्ने अडानमा हुनुहुन्छ । उनीहरूको अडानले नेकपा एमाले विभाजन उन्मुख भएको छ । 

शीर्ष नेताहरू आआफ्नै अडानमा रहेकै समयमा दोस्रो तहका नेताहरू समाधानका लागि पटक पटक छलफलमा जुटे पनि समस्याको निकास निस्कन सकेको छैन । 

हिजो मात्रै एमाले अध्यक्ष ओली समूहका नेताहरू  ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबिच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले पर्सि सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै छन् ।


कस्तो लाग्यो ?

यो पनि