जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौँकै अस्पतालमा अक्सिजन सकिँदै,  सङ्क्रमित भर्ना लिन अस्वीकार

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

संघीय राजधानी काठमाडौँ उपत्यकाकै धेरै अस्पतालमा अक्सिजन सकिएको छ । अक्सिजन सकिएपछि कतिपय आकस्मिक कक्षका अधिकांश बिरामीलाई लगाइएको अक्सिजन निकालिएको छ । अस्पतालका आकस्मिक कक्षमा अक्सिजनको पर्खाइमा बिरामी छन् । सिकिस्त बिरामीलाई पनि अक्सिजन दिन नसकेपछि आफन्त आक्रोशित छन् । बिरामीको अवस्था झन् जटिल छ । 

उपत्यकाका अधिकांश अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन व्यवस्थापनमा चुनौती थपिँदै गएको छ। अस्पतालले अक्सिजनको समस्या आउने देखिएको भन्दै थप शय्या विस्तार गरेर सङ्क्रमित भर्ना गर्न समस्या हुने बताइरहेका छन्। अस्पतालले  विज्ञप्ति जारी गर्दै अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको जनाएको छ।

अस्पतालमा भर्ना भएर उपचाररत कोरोना सङ्क्रमितका आफन्तलाई अस्पतालले अक्सिजन सकिनै लागेको भन्दै अन्यत्र लैजान सुझाव दिइरहेका छन् । अक्सिजन अभावकै कारणले शुक्रवार भक्तपुरमा रहेको भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारत दुईजना कोरोना सङ्क्रमितको मृत्यु भयो। 

अक्सिजन नपुग्ने भएकाले नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालका संञ्चालकहरु बताउँछन् । अल्का अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन सहज रूपमा उपलब्ध नभएकै कारण थप कोरोना सङ्क्रमितको उपचार गर्न सम्भव नभएको बताए।  अस्पतालसँग अझै केही शय्या पनि छ। तर अक्सिजन नपुग्ने भएकाले अस्पतालले थप बिरामीलाई भर्ना लिन सकेको छैन ।

दैनिक १५० वटा सिलिन्डर आवश्यक भए पनि अस्पतालमा भएको अक्सिजन प्लान्टले ४४ वटा सिलिन्डर मात्र भर्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ।

टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रबन्धक हरि खड्काले कोरोना सङ्क्रमितको चाप बढ्दै जाँदा अक्सिजन सहज रूपमा पाउन छाडेको बताए। ग्राण्डी अस्पतालले हालसम्म डिलरमार्फत नै अक्सिजन आपूर्ति गरिरहेको उनको भनाइ छ। सामान्य अवस्थामा दैनिक ३५ देखि ४० वटा सिलिन्डर भए पुग्ने गरेको ग्राण्डी अस्पतालमा हाल दैनिक १५० सिलिन्डरले पनि धान्न मुस्किल परिरहेको उनले बताए।

ललितपुरमा रहेको मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले अस्पतालमा पनि अक्सिजन अभाव हुने भएकाले थप सङ्क्रमितलाई भर्ना गर्न सम्भव नभएको बताए। उनले स्वास्थ्य मन्त्रालयले खाली सिलिण्डरको व्यवस्था मात्र गरिदिए पनि अक्सिजन सप्लाइमा सहज हुने बताए।

सामान्य अवस्थामा दैनिक  ५० देखि ६० वटा सिलिन्डर मात्र खपत हुने मेडिसिटी अस्पतालमा हाल ३ सयसम्म सिलिन्डर अक्सिजन खपत भइरहेको रिमालले जानकारी दिए। अस्पतालमा उपचाररत अधिकांश कोरोना सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने अवस्थाका रहेको रिमालले बताए।

 

सरकारीमा पनि समस्या

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले पनि अक्सिजन व्यवस्थापन गर्न सहज नभएको बताए। डा राजभण्डारीका अनुसार सामान्य अवस्थामा दैनिक ५ देखि १० वटा मात्र अक्सिजन सिलिन्डर खपत हुने गरेकोमा हाल दैनिक ४०० देखि ५०० सिलिन्डर अक्सिजन खपत भइरहेको छ। 

त्रिवि शिक्षण अस्पतालमा अक्सिजन अभावको अवस्था नभए पनि माग धेरै हुँदा र अक्सिजन प्लान्ट बिग्रिदा समस्या हुने गरेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए।

वीर अस्पतालमा लामो समयदेखि बिग्रिएको प्लान्ट सञ्चालनमा आएको छ। प्लान्ट सञ्चालनमा आएसँगै धेरै सङ्क्रमितको उपचारका लागि फाइदा पुग्ने अस्पतालका चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार वीरको नयाँ भवनमा ५ सय शय्या चलाए पनि अहिलेको प्लान्टबाट अक्सिजन पुर्‍याउन सकिने सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि