जेठ ०४, २०८१, शुक्रबार
               

एमाले विवाद  : नेपाल पक्षको कारबाही फुकाउन ओली लचिलो

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग संवाद बढाएका छन् । 

माधव नेपाल पक्षले लुम्बिनी, कर्णालीमा झैँ फ्लोर क्रस गर्ने ओली पक्षको डर छ । यस कारण परिस्थिति आफूअनुकुल बनाउन ओली पक्षको दौडधुप बढेको  छ।

ओलीले बिहीबार राति माधव नेपालसँग टेलिफोनमा कुरा गर्दै तिक्तता घटाउने उपायहरूबारे परामर्श गरेका थिए । माधव नेपाल निकट एक नेताका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन् । उनले एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् ।

ओलीले फोन गर्नुअघि राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा नेपालसँग १ घण्टा लामो कुराकानी गरेकी थिइन् । 

त्यसपछि शीतलनिवासले ओलीसँग परामर्श गरेको, त्यसपछि ओलीले माधव नेपाललाई फोन गरेको उच्च स्रोत बताउँछ ।

ओलीले आजै दिउँसो बालुवाटारमा आफू निकटस्थको अनौपचारिक बैठक डाकेका छन् । ओलीनिकट एक नेताले नेपाल पक्षमाथिको कारबाही फुकाउने एजेन्डाका लागि त्यो बैठक डाकिएको एक नेताले बताए ।

 

 विवादको मिलनबिन्दु खोज्न कार्यदल बनाउने प्रस्ताव

नेपाल पक्षका नेताहरू २ जेठ २०७५ मा फर्किनुपर्ने अडानमा छन् । नेपाल पक्षको उक्त अडानमा अध्यक्ष केपी ओली सकारात्मक देखिएका छैनन् । २ जेठमा फर्किनै सकिन्न भन्ने ओलीको अडानमा नेता नेपाल पक्ष पनि लचिलो देखिएको छैन ।

२ जेठमा फर्किन नसक्ने ओलीको अडान र त्यही विन्दुमा फर्किएर एमाले जोगाउनुपर्ने अडानका बीचमा सहमति खोज्न कार्यदल बनाउनेबारेमा पनि एमालेमा छलफल भएको छ ।

कार्यदल बनाउने बारेमा सहमति जुटिसकेको भने छैन । तर, कार्यदलले मिलनबिन्दु पहिल्याउने गरी छलफल भएको छ । एमाले स्रोतका अनुसार २ जेठमा नफर्किने ओलीको अडान र फर्किनुपर्ने माधव नेपाल पक्षको अडानलाई सहमतिमा ल्याउने बीचको बाटो खुट्याउने गरी कार्यदलले सुझाव दिनेछ ।  यो कार्यदल दुवै नेताको फेस सेभिङका लागि हो नेपालनिकट एक नेताले बताए ।

दोस्रो तहका नेताहरूबिच छलफलमा कार्यदल बनाउने बारेमा लगभग सहमति जुटिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि