जेठ ०४, २०८१, शुक्रबार
               

‘रवीन्द्रको अनुहारमा समृद्धि झल्कन्थ्यो’

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

पोखरा । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित ‘विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीका वक्ताले अधिकारी विकासको स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रुपमा चित्रण गरे ।

अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो । प्रा. डा. भरतराज पहारीले विकासलाई आध्यात्मिक चेतनासँग जोड्नुपर्ने बताए ।

पोखरा महानगरपालिका, शहरी विकास आयोजनाका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले अधिकारीमा विकासको हुटहुटी निकै रहेको जनाउँदै उनी दिगो विकासका बारेमा निरन्तर संवादमा रहने गरेको स्मरण गरे ।  राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अधिकारीको अनुहारमा समृद्धि झल्कने गरेको बताउँदै आयोगमा उनको गतिशीलता र बौद्धिताको चर्चा हुने गरेको जानकारी दिए । 

कार्यक्रममा अधिकारीका सहकर्मी एवम् राजनीतिक विश्लेषक झलक सुवेदीले रवीन्द्र अधिकारी स्मृति ग्रन्थमा अधिकारीका जीवनका विभिन्न मोडमा संगत भएका सहकर्मी, सहपाठी, विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसँग जोडिएका विषय समावेश भएको र नेपाली राजनीतिको ४० वर्षे कालखण्डको एउटा सशक्त दस्तावेज भएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिमा विकासप्रेमी नेता अधिकारीको अभाव खड्केको बताए । प्रतिष्ठानका महासचिव धनराज आचार्यले विकासका पर्यायवाची अधिकारीको  सिद्धान्तलाई अवलम्बन गरेर विकासका बाटामा अघि बढ्नुपर्ने धारणा राखे । 

प्रतिष्ठानका अध्यक्ष एवं अधिकारीकी जीवनसंगिनी विद्या भटराईले अधिकारीले समृद्ध नेपालका लागि देखेको योजनालाई साकार पार्न आफूहरु प्रतिबद्ध भएको बताए । गोष्ठीमा देशविदेशबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गरेका व्यक्तिको सहभागिता थियो । यसअघि प्रतिष्ठानका आयोजनामा पोखरा– १८ सराङ्कोटस्थित शहीद तथा राष्ट्रिय विभूति उद्यानमा रहेको  अधिकारीका शालिकमा माल्यार्पण गरिएको थियो । 

यो पनि