बैशाख १४, २०८१, शुक्रबार
               

अल्पमतमा ओली

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । बुधबार (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ। 

यससँगै ओली सरकार अल्पमतमा परेको हो । एमाले–माओवादी हुँदा ओली सरकारलाई स्पष्ट बहुमतसहित १६९ मत रहेको थियो । माओवादीका ५३ जना सांसद (चार जना निलम्बित)ले समर्थन फिर्ता लिएपछि ओलीसँग १२१ जनाको मात्रै समर्थन छ। 

एमालेका १२१ सांसदमध्ये माधवकुमार नेपाल पक्षका ३५ जना छन् । त्यसमध्ये नेपाल पक्षका २७ सांसदलाई ओलीले स्पष्टीकरण सोधेका छन् । उनीहरु ओलीदेखि बिच्किएका छन् । यद्यपि, सो समूहले अहिलेसम्म ओलीलाई विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन । तर पनि विपक्षी दलहरूसँग मिलेर छुट्टै रणनीति बनाउन व्यस्त  छ ।  ओलीलाई मत दिनुपर्ने अवस्था आए त्यसअघि नै सांसद पदबाट राजीनामा दिने उनीहरूको तयारी रहेको चर्चा छ।  ओलीसँग एमालेमा अहिले उनका पक्षमा ८६ जना सांसद खुलेका छन् ।

नेपाल पक्षका नेताहरूले पार्टीलाई २ जेठ २०७५ मा फर्काउन ओलीलाई अनुरोध गरेका छन्। ओली जेठ २ गते फर्किन नमाने सांसद पदबाट सामूहिक राजीनामा दिएर ओलीको विरोधमा उत्रने नेपाल पक्षका सांसदको चेतावनी छ। 

नेपाल पक्षका एक नेताले भने ‘विश्वासको मत लिन संसद् अधिवेशन बोलाएको हो भने मत दिने अवस्था आउँदैन । हामीले त्यो बेला एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’

तत्कालीन एमाले–माओवादीले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए । साझा घोषणापत्रसहित चुनावमा जाँदा एमालेले प्रतिनिधि सभामा १२१ र माओवादीले ५३ सिट ल्याएको थियो। झन्डै २ तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै ओलीले ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि