मंसिर ०७, २०८१, शुक्रबार
               

पदका लागि वैचारिक आस्था कोठीमा बिक्री गर्ने व्यक्ति होइन म : शेरचन

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका माओवादी नेता अमिक शेरचनले आफूले पदमुक्त हुँदा खुसी लागेको बताएका छन् । उनले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष जस्ता पद अस्वीकार गरेको दाबी समेत गरेका छन् । साथै उनले प्रदेश प्रमुख पनि आफ्ना लागि अनिच्छुक पद भएको बताएका छन्  ।

प्रदेश प्रमुखको निवासमा मङ्गलवार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको बताए । एमाले नेता मनमोहन अधिकारीको निधनपछि सो पार्टीको अध्यक्ष बन्न प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको शेरचनले बताए । साथै उनले पदका लागि वैचारिक आस्था कोठीमा बिक्री गर्ने व्यक्ति आफू नभएको दाबी समेत गरे ।

सोही सम्मेलनमा उनले पदको लागि राजनीति नगरेको तथा पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि सो पदमा प्रस्ताव गरिए पनि अस्वीकार गरेको दाबी गरे । साथै उनले शाही कालमा प्रधानमन्त्रीको प्रस्ताव आएको पनि बताए ।

शेरचनद्वारा वितरित प्रेस वक्तव्यको पूर्ण पाठ

आदरणीय पत्रकार साथीहरू !

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरूबाट सहयोग र सम्मान पायौँ‌। यहाँहरूप्रति आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरि दिनुभएकोमा पनि धन्यवाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल लामा र क.मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।

सन्त नेता क.मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बईको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहारा वर्गको इमानदार साथी हुँ र वर्गसंघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रामाज्यवादविरुद्धको सङ्घर्षहरू पञ्चायत कालदेखि गणतन्त्र कालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौता विरुद्धको सङ्घर्षहरूमा मैले कुनै प्रकारका षड्यन्त्र र गद्दारी गरेको छैन । न त अरबौँ कमिसन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिसनहरूको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा चार वर्ष जति जेल यातना र हजारौँ पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।

सङ्घर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौँ दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस् ! कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतङ्कित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी–पार्टी बिचको फुट, पद र सत्ता लिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एक पटक सबैले निधार खुम्चाएर सोचौँ, दैनिक सयौँको खुन बगिरहेको अवस्थाबाट घोर निरङ्कुश प्रतिगमनका विरुद्धका सङ्घर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरूको बिचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिए । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरूबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्मायार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।

अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बिचको सहकार्य र एकतामा अघि बढौँ मेरो हार्दिक अपिल छ ।

अमिक शेरचन

२०७८/०१/२१

यो पनि