जेठ ०६, २०८१, आइतबार
               

विपद्‍मा बिरानो सहर
भूकम्प, नाकाबन्दी तथा कोरोनाकालमा धेरैले छाडे काठमाडौं

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उपत्यकाबाट लाखौँ बाहिरिएका छन् । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट धेरै सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं उपत्यका छाडे ।

काठमाडौं उपत्यका छाडी गाउँ जानेको यात्रुको विषेश गरी गोंगबुस्थित नयाँ बसपार्कमा घुइँचो लाग्यो । यस्तै काठमाडौँको गौशाला, कोटेश्वर, बसपार्क र कलंकी क्षेत्रमा भीड लागेको थियो । उपत्यकाबाट बाहिरिने यात्रु बढेसँगै टिकट काटेका पनि धेरैले बस पाउन सकेका छैनन् । कोरोना संक्रमण, रोकथाम गर्न सरकाले लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी गरेसँगै घरजाने यात्रुको सङ्ख्या बढेको हो । 

कोरोना संक्रमणभन्दा पनि निषेधाज्ञापछि जनजीवन कष्टकर हुने आँकलन गर्दै धेरै मानिस थातथलो फर्किएका हुन् । गत वर्ष सुरुमा एक साताको लागि भन्दै लकडाउन गरिए पनि तीन महिना बढी भयो । धेरै मानिसले खान पाएनन् । हिँडेरै सयौँ कोष परसम्म घर जान बाध्य भए । अहिले पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर धेरैले निषेधाज्ञा हुनु पूर्व नै सहर छाडेका छन् । 

यसअघि अघिल्लो वर्ष लकडाउनअघि कोरोना महामारीमा मानिसहरू ठुलो सङ्ख्यामा बाहिरिएका थिए । लकडाउनका बीच हिँडेरै तथा एम्बुलेन्स पनि धेरै मानिस बाहिरिए ।

त्यसअघि ०७२ साल वैशाख १२ को भूकम्पमा ठुलो सङ्ख्यामा मानिसले काठमाडौं छाडेका थिए । सो समयमा पनि यसरी लाखौँ मानिस काठमाडौं खाल्डोबाट बाहिरिएका थिए । यस्तै, संविधान जारीपछि भारतले नाकाबन्दी लगाउन मानवीय संकट आयो । खाद्यान्न तथा इनधन अभाव भयो । सो समयमा  पनि धेरैले अभावको सहर काठमाडौं छाडेर आफ्नै गाउँमा सुखदुख झेल्न गए ।

बर्षेनी ठुला पर्व दसैँ–तिहारमा मानिसहरु काठमाडौं खाल्डो छाडेर बाहिरिन्छन् । तर, त्यो खुसीयालीका निम्ति काठमाडौं रित्तिन्छ । अहिले भने विपतको समयमा काठमाडौँबाट लाखौँ मानिस बाहिरिएका हुन् ।

गत साल कोरोना महामारीको समयमा वा भूकम्पको समयमा विपतमा काठमाडौँले उनीहरूलाई बिदा गरेको हो ।  यसैले काठमाडौंमा बस्ने धेरै मानिसका दुईवटा ठेगाना हुने गर्छ । एउटा काठमाडौंको अस्थायी ठेगाना अर्को जिल्ला वा गाउँको ठेगाना । 

सुख र दुःखको समयमा हरेक ठुला सहरको नियति यस्तै हुन्छ । देशभरिबाट जीवनका अनेकन् लक्ष्य, चाहना र आवश्यकता पूरा गर्न मानिस काठमाडौं सहरमा अस्थायी बसोबासको लागि आएका छन् । सहरभित्रको दौडादौड, भागाभाग, ठेलमठेलबिच मानिसले जीवन र अस्तित्व खोजेको हुन्छ । यही भीडमा कति मानिस सफल हुन्छन् । अनि कति असफल हुन्छन् । धेरै मानिस टाइमलाइनको कुनै औसत अंकमा बाँचिरहेका हुन्छन् । तथापि कुनै पनि सुखद वा दुःखद समयमा सहर सधैँ रित्तिन्छ । 

यसरी दुईवटा ठेगाना भएका मानिसलाई न खुसीमा न दुःखमा काठमाडौं उपत्यकाको चार भन्ज्याङ छाडेर जानै पर्ने बाध्यता आउँदो रहेछ । दसैँलगायत चाडपर्वमा उल्लासको समयको मुखमा काठमाडौं उपत्यकाबाट बाहिरिँदा मानिसहरू फर्कँदा पनि नयाँ उत्साहका साथ नै फर्कन्छन् । जब अहिलेजस्तो विपतिको हुरीमा जोगिन यहाँबाट फर्किने भने काठमाडौं फगत ‘युज एन्ड थ्रो’ वा काठमाडौँले आफूलाई ‘ युज एन्ड थ्रो’ बनाएको महसुस गर्छन् । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि