जेठ ०५, २०७८, बुधबार
               

टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी
एमाले (तत्कालीन माले) गठन गर्दा ओली थिएनन्

ADVERTISEMENT

विवादका बीच गठन भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना को ७२ वर्षमा ११ वटा पार्टीमा विभाजित भएको छ । कम्युनिस्ट ईतिहास ७ दशक लामो भए पनि टुट र फुटको पर्याय बनेको कम्युनिस्ट अहिले ११ वटा समूहमा विभाजित छन् ।

२००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा संस्थापक पुष्पलाल नै थिए । उनले मार्क्सवादको अध्ययन र प्रचारमा लागेका ‘मित्रहरू’लाई नजरअन्दाज गरेर पार्टी खोलेको आरोप छ ।

त्यहीँबाट सुरु भएको विवादले अहिले विभिन्न कम्युनिस्ट पार्टी बनाएको छ । मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले राजनीतिक रुपमा विभाजित छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्राविधिक रुपमा एकै दलमा रहे पनि राजनीतिक रुपमा विभाजित छन् ।

यस्तै पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र पनि छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपा, गोपाल किराँती नेतृत्वको पुनर्गठित माओवादी केन्द्र जस्ता कम्युनिस्ट पार्टी अस्तित्वमा छन् ।

स्थापना दिवसमै विवाद

संस्थापक पुष्पलालले २३ चैत २००५ मा ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । यो नेपालीमा प्रकाशित पहिलो मार्क्सवादी रचना थियो । उता केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘मार्क्सिसस्ट स्टडी सर्कल’ गठन गरे । पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आवद्ध हुन थाले । तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए । रायमाझी र अधिकारी भारतीय कम्युनिस्ट पार्टीको सम्पर्कमा समेत थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ

‘माक्र्सिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए । सर्कलको उद्देश्य नेपालमा कम्युनिस्ट पार्टी खोल्नु थियो । त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले सर्कलका साथीहरूलाई थाहै नदिई गुप्त ढङ्गले अरू चार जनालाई सम्मिलित गराई नेकपा स्थापना गरेको डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ मा उल्लेख गरेका छन् ।

नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफैँ थिए । यसरी पुष्पलालले काठमाडौंबाट कलकत्ता पुगेका नेवारहरूलाई मात्र समेटेर पार्टी खोलेका थिए । पुष्पलालबाहेक कोही पनि ‘माक्र्सिस्ट स्टडिज सर्कल’मा आवद्ध युवा थिएनन् ।

पार्टी खोले पनि यसलाई गोप्य नै राखियो । ३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो । अचम्म त के भने पार्टी स्थापनाको जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरू कोही थिएनन् । सो दिन घोषित केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए । महासचिव भने पुष्पलाल नै थिए ।

यो समितिमा रहेका अयोध्या सिंह भाकपाका प्रतिनिधि थिए । त्यही कारण पनि पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी पुनर्गठन गरेर सार्वजनिक गर्न भाकपाले भूमिका खेलेको अनुमान गर्न सकिन्छ । किनभने पहिलो समिति बनाउनुअघि पनि पुष्पलालको भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीसँग सम्बन्ध थियो । उनले भारतीय कम्युनिस्ट पार्टीबाटै मार्क्सवादी शिक्षा पाएका थिए। दोस्रो समितिमा पनि केशरजंग रायमाझी भने छुटेका थिए ।

पुष्पलालले आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख गरेका छन् । तर, तुलसीलाल दोस्रो केन्द्रीय समितिमा सदस्य हुँदा गौरिभक्तको नाम उल्लेख छैन । मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको पुष्पलालले उल्लेख गरेका छन् । तर, कर्माचार्यको नाम पनि दोस्रो केन्द्रीय समितिबाट हटेको छ भने मनमोहन समावेश छन् ।

यसरी स्थापनाकालमा नै ‘अदृश्य गतिविधि’का कारण नेकपामा विवादको बिउ रोपिएको थियो । त्यो विवादमध्ये एउटा थियो– पार्टी स्थापना मिति । अहिले पनि केहीले १० वैशाखलाई स्थापना दिवस मान्ने गरेका छन् भने केहीले पार्टी स्थापनको सार्वजनिक जानकारी गराइएको र पहिलो पटक नेकपा घोषणापत्र जारी गरिएको ३० भदौलाई स्थापना दिवस मान्ने गरेका छन् ।

२०१७ सालमा पहिलोपटक कम्युनिस्ट पार्टीभित्रको विवाद बाहिर आउँदा स्थापना दिवस तथा संस्थापक सदस्यहरूबारे पनि किचलो उठेको थियो । त्यसपछि पनि पार्टी स्थापनाको विवादले बेला बेला चर्को रूप लिएको थियो ।

नेकपाको स्थापनालाई २०३५ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (माले) ले पनि ‘षड्यन्त्रपूर्वक गरिएको’ भनेको छ। मालेको प्रथम राष्ट्रिय सम्मेलनको दस्ताबेजमा ‘पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज थियो’ उल्लेख छ।

माले गठन गर्दा केपी ओली थिएनन्

विभाजनका बिच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्ग शत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत नेकपा माले गठनका भयो । यो नै हालको एमाले हो । पुष्पलाल, मनमोहनहरूको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

नेकपाको गठन भने २०३५ मा भएको हो । नेकपा मालेको स्थापना गर्दा यसका नेता सीपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, जीवराज आश्रित लगायत थिए । केपी ओली भने जेलमा थिए ।

नेकपाको पहिलो फुट

कलकत्तामा २००८ असोजमा भएको पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको थियो । पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब थिए । तर, पछि शम्भुराम श्रेष्ठलाई पनि थपिएको थियो । पुनः केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरी राजनीतिक समिति नौ सदस्यीय बनाइयो ।

त्यसको केही समयपछि २००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाइ आफैँ महासचिव भए । उनले राजनीतिक समितिको बहुमतमा पुष्पलाललाई अपमानजनक ढङ्गले हटाएका थिए । महासचिवबाट हटाएपछि उनलाई गन्डक प्रान्तको इन्चार्ज बनाइयो । आफ्नो बहिर्गमनबारे पुष्पलालले उनको पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’मा कुनै पनि कुरा उल्लेख गरेका छैनन् । विवादको असर भने जिल्ला तहसम्म पुगेको थियो ।

पहिलोपटक २०१२ सालमा रौतहट र वीरगन्ज कमिटीले केन्द्रसँग सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । त्यसपछि २०१३ सालमा उत्तर गन्डक प्रान्तीय कमिटी र पूर्व कोसी प्रान्तीय कमिटी, चैनपुर र धनकुटा जिल्लाले पनि केन्द्रसँग सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । तर, केही कार्यकर्तालाई कारबाही गरेर पुनः जिल्ला पार्टी कमिटी ब्युँताइएको थियो । 

पार्टी अनुशासनको विषयमा केही केन्द्रीय सदस्यलाई कारबाही गर्ने र फुकवा गर्ने क्रम चलिरह्यो । २०१६ पुसमा काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा सबै नेता आलोचित भए । पुष्पलालमाथि ‘व्यक्तिवादी’ र ‘नेतृत्वको महत्वकांक्षी’ भएको आरोप लगाइयो । तुलसीलालमाथि ‘संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको’, केशरजंग रायमाझीलाई ‘राजावादी भएको’, डीपी अधिकारीलाई ‘कांग्रेसपन्थी’ को आरोप लाग्यो ।

पहिला सिद्धान्तका लागि अहिले पदका लागि फुट

नेकपाभित्र खास सैद्धान्तिक मुद्दा संसदीय धार कि गणतन्त्र भन्नेमा बहस जारी नै रह्यो । १ पुस २०१७ मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उक्त कदमको महासचिव केशरजंग रायमाझीले समर्थन गरे । त्यसपछि भने पार्टीभित्रको द्वन्द्व सतहमा आयो । यसरी स्थापनाको १३ वर्षपछि नेकपा पहिलोपटक फुट्यो । र, फुटको अनगिन्ती शृङ्खला सुरु भयो । यही शृङ्खलाको पछिल्लो क्रममा नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमाले राजनीतिक रुपमा विभाजित भएको छ ।

तर, अहिलेको फुट पहिलो फुटको जस्तो सैद्धान्तिक नभई पदको भागबन्डा नमिल्दाको परिणाम भन्ने स्पष्ट देखिएको छ । नेपालमा कम्युनिस्टहरू सिद्धान्त नभई पदका लागि भने पछिल्ला समय फुटेका हुन् ।

राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी भन्छन्, ‘नेपालका कम्युनिस्ट सिद्धान्त भन्दा व्यक्तिगत स्वार्थमा पूर्तिमा उद्यत छन्, जसको कारण स्वार्थ पूर्तिको लागि बेल फुटाए जसै गरी पार्टी फुटाउन पछि पर्दैनन् ।’

४ सिटदेखि दुई तिहाई नजिक जनमतसम्म

नेपाल कम्युनिस्ट पार्टी २०१५ सालको पहिलो आम निर्वाचनमा चार सिट जितेर अस्तित्वमा आएको थियो । पञ्चायतकलामा विभिन्न चिरामा विभाजित भयो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो । तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो । 

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि माओवादीले संसदीय राजनीति परित्याग गर्‍यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिष्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एसियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो ।

२०५४ सालमा एमाले विभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठुलो दल बन्यो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करिब ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो ।

चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । पदीय भागबन्डाको विवादले नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्यो । एकता प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता बदर गरिदियो । अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।

पछिल्लो फुट, एमाले विभाजन

जन्मिँदै विवादकासाथ जन्मिएको कम्युनिस्ट पार्टीको नियति अझै पनि गुट, फुट र टुटमै बितेको छ । फुट्न जान्ने जुट्न नजान्ने अनौठो रोगबाट नेपालको कम्युनिस्ट इतिहास ग्रसित छ । अरूले नभएर आफ्नै  सहकर्मीहरूको त्रासले नेताहरूको राजनीतिक भविष्य धरापमा पर्दै आएको छ । यसको सिकार सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले पनि बनेको छ ।

झण्डा र व्यानर एउटै प्रयोग भइरहे पनि व्यावहारिक रूपमा प्रस्ट दुई सङ्गठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमाले राजनीतिक रुपमा फुटेको छ । प्राविधिक रुपमा एकै पार्टी भए पनि अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवाद निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको छ । सो समूह अदालत समेत गएको छ । एकअर्काविरुद्ध कटु आलोचना गर्ने, कारबाही र स्पष्टीकरण तथा प्रति–स्पष्टीकरण सोध्ने, ‘फ्लोर क्रस’ गर्ने लगायतका गतिविधि भइरहेको एमाले राजनीति रुपमा विभाजित भइसकेको देखिन्छ । विभाजनको औपचारिक घोषणा मात्रै बाँकी रहेकोमा भने दुवै समूहका नेताहरू प्रस्ट छन् ।

सन्दर्भ सामग्री :

–नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास (डा सुरेन्द्र केसी)

–विभिन्न म्यागेजिन तथा पत्रपत्रिकाहरू

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि