मंसिर ०७, २०८१, शुक्रबार
               

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, ओली पक्षको पनि आजै

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ  ।

साथै, कर्णाली प्रदेश सरकार बचाउन नेकपा एमालेका माधवकुमार नेपाल समूहको साथ पाएपछि माओवादी केन्द्रले ओली सरकार फेर्ने गृहकार्य सुरु गरेको बुझिएको छ ।

गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा केन्द्रीय सरकारसमेत परिवर्तन गर्ने तयारी भइरहेको बताएका थिए ।

यता प्रधानमन्त्री ओली पक्षको बैठक पनि आजै बस्ने बताइएको छ । आफ्नो पार्टीभित्रै विवाद बढीरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठक बोलाएका हुन्‌ । 

आजै दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताए । बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने तथा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको भट्टराईको भनाइ छ ।

जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने पनि बैठकको एजेण्डा बनाइएको उनले बताए । साथै, उपनिर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ । ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना नै महाधिवेशन तयारीबारे पनि छलफल गर्ने एजेण्डा बनाएको छ ।

यस्तै, आजको बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ । ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए ।

उनीहरूका कारण नेकपा माओवादी केन्द्रका नेता एवम्‌ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए । बुढा, शाही र थापालाई गत शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो । 

यो पनि