मंसिर ०७, २०८१, शुक्रबार
               

पार्टी जोगाउन निरन्तर लागिरहेको छु : माधव नेपाल

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

बनेपा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् ।

नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढङ्गले चलेको आरोप लगाए ।

अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि नै आफूले निरन्तर संघर्ष गरिरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्नका लागि आग्रह गरिरहेको उनले बताए । ‘कम्युनिष्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन’, उनले भने, ‘जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ ।’ 

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्तबिनाको कम्युनिष्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको बताइन् ।

उनले जिम्मेवारी बाँडफाँड, जिल्ला कमिटीको घोषणा, पालिकासम्मको कमिटी घोषणा भएकालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमता अनुसार लाग्न निर्देशन दिइन् ।

कार्यक्रममा एमालेका नेता कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईंले पार्टीलाई सुदृढीकरणको अभियानमा सबै तह र तप्कालाई विचार, नीति, सिद्धान्तमा प्रतिबद्धताका साथ लाग्न आग्रह गरे ।

सो क्रममा एमाले काभ्रेपलाञ्चोकले टोकबहादुर वाइबाको अध्यक्षमा वसुन्धरा हुमागाई उपाध्यक्ष, दिपक गौतम सचिवलगायत २०१ जनाको जिल्ला कमिटी पुनःगठन गर्नुका साथै जिल्लाका सबै पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसम्मको नेतृत्व चयन गर्नुका साथै जनवर्गीय सङ्गठन र मोर्चासमेत गठन गरी अगाडि बढेको घोषणा गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि