बैशाख २१, २०८१, शुक्रबार
               

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा आज अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरेका छन् ।

 देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्षलाई  एकताबद्ध हुन आग्रह गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘अबको हाम्रो समाजवाद कस्तो हुने,  यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ, वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।’

अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग संघर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताएका छन् ।

नयाँ वर्षले नेपाली मौलिकतासहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामना व्यक्त गरेका छन् । 

यो पनि