काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियतविहीन भएको बताएका छन् । सोमबार गृहजिल्लामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री रायमाझीले सो बताएका हुन् ।
सांसदलाई कारबाही गर्नसक्ने, तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र नयाँ सरकार बनाउने प्रयास पनि अलपत्र परेको तर्क अघि सार्दै नेता रायमाझीले माओवादी केन्द्र हैसियतविहीन भएको पुस्ट्याइँ गरेका हुन् ।
उनी पूर्वमाओवादीबाट नेकपा एमालेमा समाहित नेता हुन् । पुष ५ मा संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीको आलोचना हुँदै गर्दा ओली धारमा उभिएका रायमाझी फागुन २३ को फैसलापश्चात् नेकपा एमाले भएका थिए ।
सो फैसलाका आधारमा उनी पुरानो पार्टीमा नफर्किएको भन्दै नेकपा माओवादीले उनीलगायत रामबहादुर थापा बादल, लेखराज भट्टलाई कारबाही गरेको छ ।