जेठ ०६, २०८१, आइतबार
               

ओलीलाई हटाउन कांग्रेस–माओवादी अघि बढ्दा जसपाको अवरोध
ओलीलाई हटाउने कि राख्ने निर्णायक भूमिकामा जसपा

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि पहल गरे पनि जनता समाजवादी पार्टी (जसपा) भित्रको मतभेदका कारण नयाँ समीकरण बन्न सकेको छैन । नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने संकेत सार्वजनिक रूपमै दिँदै आए पनि जसपाले स्पष्ट धारणा बनाइ नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ । 

सत्ता समीकरणका लागि कांग्रेस, माओवादीजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा अहिले राजनीतिक रुपमा विभाजित छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा रहेकाले उसले ठोस निर्णय गर्न सकेको छैन ।

संसदमा दुई सय ६५ जना सांसदमध्ये हाल दुई सय ६० छन्। नेकपा एमालेका सांसद एक सय २१ छ । माओवादीले समर्थन फिर्ता लिएमा एमालेले अरू कुनै दलको सर्मथन लिनुपर्ने हुन्छ । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा गठबन्धन सरकार बन्न तीनैवटै दल मिल्नुपर्ने हुन्छ। कांग्रेसको ६३ सांसदमा (कायम ६१), माओवादी केन्द्रको ५३ (हाल कायम ४९) र जसपाको ३४ (कायम ३२) सांसद छन् । यी तीनै दल एक ठाउँमा उभिँदा मात्रै ओलीको विल्पकमा सरकार बन्छ ।

तर, आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ । तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ ।

सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई ठाकुर र महतोले धेरै राजनीतिक समस्या समाधानको सर्तसँग जोडेका छन् । उनीहरूले निलम्वित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, उनीहरूविरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्त तेर्साएका छन् । यी माग वर्तमान ओली सरकारले पूरा गरेमा यही सरकारलाई निरन्तरता दिने पक्षमा ठाकुर र महतो छन् । उनीहरूले कार्यदल बनाएरै छलफल अघि बढाइरहेका छन् । 

जसपाकै नेता बाबुराम भट्टराई र उपेन्द्र यादव पहिलेदेखि जतिसक्दो छिटो ओली सरकारलाई बिदा गर्नुपरे पक्षमा थिए । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय लिए लगतै उनीहरु उत्साहित छन् । 

भट्टराईले त कांग्रेसको पछिल्लो निर्णयको प्रशंसा गर्दै सामाजिकसञ्जालमा लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौँ, आजको दिनमा मुख्य प्राथमिकता ओलीको बिदाइ नै हो है ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव पनि वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताउँदै आएका छन् । कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा समर्थन गर्ने बताउँदै उनले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने हामीले त्यसको स्वागत गर्छौँ ।’

यद्यपि पार्टीले उठाउँदै आएका माग पूरा गराउने कुरालाई आफूहरूले प्राथमिकतामा राखेको बताउँदै नेता राजेन्द्र महतोले आफूहरू सत्ताको खेलमा नरहेको बताए । उनले भने, ‘हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा तीनवटै दलसँग कुरा गरिरहेका छौँ, हामी सत्ता समीकरणको खेलमा छैनौँ ।’

जसपाभित्र यसरी दुई धार देखिँदा कतिपयले विभाजन आउन सक्नेसमेत आँकलन गरेका छन् । वा, प्रधानमन्त्रीसँग नजिक हुँदै गएका भनिएका महन्थ ठाकुर र महतो पक्ष बलियो हुँदा पार्टीमा भट्टराई र यादव पक्षको जोड नचल्ने अडकलसमेत गरेका छन् । 

पार्टीमा एकमत नहुने सम्भावनाबारे नेताहरु भन्छन्, ‘अहिलेसम्म त कुनै असहमति केही भएको छैन । केही यही सरकारलाई समर्थन गर्ने, नगर्ने वा नयाँ सरकार बनाउने पक्षलाई साथ दिने नदिने भन्ने विषयमा छिट्टै निर्णय होला ।’


कस्तो लाग्यो ?

यो पनि