बैशाख २३, २०८१, आइतबार
               

बालाजु बाइपासमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण हुँदै
राज्यमन्त्री मानन्धरले गरे शिलान्यास

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

बालाजु सरकारी जग्गाको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको छ । करिब एक करोड लागतमा बालाजु बाइपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

बाइपासमा निर्माण हुने सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिएका छन् । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

‘काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ,’ मन्त्री मानन्धरले भने, ‘बाइपासलाई विवादित बनाउने प्रयास भए पनि अहिले जनताको जित भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार सचेत छ ।’

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिए । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उनेले भने, ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालीन रुपमा समाधान हुनेछ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहोरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समीर भण्डारीले जानकारी दिए ।

यो पनि