जेठ ०६, २०८१, आइतबार
               

नेतृत्व विभाजनपछि एमालेका भ्रातृ सङ्गठन पनि फुट्न थाले
महिला र युवामा नेपाल पक्षको अलग नेतृत्व

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको नेकपा एमाले (माधव नेपाल) समूहले जनवर्गीय सङ्गठनसम्म समानान्तर कमिटी गठन गर्न सुरु गरेको छ । केही दिनअघि काठमाडौंमा जिल्ला तहसम्मका आफूपक्षीय नेताहरूको २ दिने भेला गरेको सो पक्षले सबै कमिटीमा समानान्तर संरचना बनाउने उद्धेश्यस्वरुप गतिविधि तीव्र बनाएको छ ।

गुटको भेला गरेको भन्दै माधव नेपाल लगायतका चार नेतासँग ओलीले स्पष्टीकरण लिएकै बेला नेपाल पक्षले भने भ्रातृ सङ्गठनहरूको भेलाबाट अलग्गै नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ । सो समूहले अहिलेसम्म महिला सङ्घ र युवा सङ्गठनको अलग्गै भेला गर्दै नेतृत्व चयन गरेको छ । बाँकी जनवर्गीय सङ्गठनको भेला गर्ने र नेतृत्व चयन गर्ने उसको तयारी छ ।

ललितपुरमा सम्पन्न माधव नेपाल पक्षको राष्ट्रिय भेला लगत्तै भएको महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अखिल नेपाल महिला सङ्घको समानान्तर कमिटी गठन गरेको छ । एमालेको महिला सङ्घकी अध्यक्ष सीता पौडेल छन् । माधव नेपाल पक्षले अलग्गै नेतृत्व चयन गरेसँगै एमाले सम्बद्ध महिला सङ्गठन औपचारिक रुपमा विभाजित भएको छ । माधव नेपाल पक्षीय अध्यक्ष राईका अनुसार भेलाले ४७५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । जसको महासचिवमा शान्ति अधिकारी छन् । सात जना उपाध्यक्षमध्ये प्रदेश १ यशोदा अधिकारी, २ उषा पोखरेल, बागमतीमा सावित्रा भुसाल, गण्डकीमा सीता गिरी वली, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिममा माया भट्ट र कर्णाली विजया विष्ट छन् । उपमहासचिव सरला यादव, कोषाध्यक्ष देवकी श्रेष्ठलाई बनाइएको छ ।

यता युवा सङ्घ पनि विभाजित भएको छ । शनिवार सम्पन्न माधव नेपाल पक्षीय युवा सङ्घको भेलाले नरेश शाहीलाई अध्यक्ष चयन गरेको छ । सङ्घका वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जिएमसहित नयाँ नेतृत्व चयन भएको हो । संस्थापन पक्षले केही समयअघि नेकपा विभाजन भए लगत्तै वचनबहादुर सिंहलाई अध्यक्ष बनाएर युवासंघ पुनर्गठन गरेको थियो । माधव नेपालपक्षले चैत १० गते विद्यार्थी भेला गरी अनेरास्ववियुको पनि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

देशैभरका कमिटीहरूमध्ये विगतमा माधव नेपाल पक्षको नेतृत्व भएकाहरूलाई यथावत क्रियाशील गराउने र नभएका ठाउँमा सोही कमिटीका सिनियर नेताको संयोजकत्वमा नयाँ कमिटी बनाउने निर्णय नेपाल पक्षको भेलाले गरेको थियो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केनद्रबीचको एकतालाई मान्यता नदिएपछि दुवै दल पूर्ववत् अवस्थामा फर्किएको छ ।  ३ जेठ, २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच सम्पन्न एकीकरणलाई २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले खारेज गरेको हो । नेकपा (एमाले) पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरूको स्वतः पुनः स्थापना भएको नेपाल पक्षको दाबी  छ ।

तर केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष ओलीले फागुन २८ गते २३ जना माओवादीका नेताहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गरे । नेपाल पक्षको उपस्थितिबिना ओली पक्षले एमालेका पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको थियो । ओलीले नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएर आफू पक्षीय नेताहरूलाई जिम्मेवारी दिएका थिए । लगतै पार्टीमा विवाद चर्कियो । नेपाल पक्षले उक्त बैठकले गरेका निर्णय खारेज हुनुपर्ने बताउँदै आएको छ । तर ओली भने आफूले गरेका निर्णयहरू खारेज नहुने बताउँदै आएका छन् । 

ओली पक्षले चालेका कदमविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको भन्दै नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्याे । नेपाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेलामार्फत समानान्तर कमिटी जिल्ला हुँदै वडा तहसम्म पुर्‍याउने निर्णय लिएको छ। 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि