काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो अधिकार दिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ ।
पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । ती नेताका अनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।
यसअघि शनिबारै बसेको संसदीय बैठकले नेपाल समूहका पाँच नेतालाई स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालले आफूसँगै केही नेताको राजनीति सिध्याउन लागेको बताएका थिए ।