प्रतिनिधिसभा बैठक कहिले सुरु हुन्छ र सकिन्छ एवं संसदीय समितिका बैठक कहिले डाकिन्छन् भन्ने कुराले सांसद नागेन्द्र कुमारलाई खासै असर गर्दैन । किनभने, उनी आफ्नै काम र धुनमा व्यस्त हुन्छन् । सर्लाहीबाट समानुपातिक सांसद नागेन्द्र कहिले गृह जिल्ला त कहिले राजधानीमै हुन्छन् । गृह जिल्ला हुँदा आममतदाताको घर दैलोमा पुग्ने गरेका उनी काठमाडौमा रहँदा सांसद बैठकलाई खासै वास्ता गर्दैनन् । उनी यो वर्षको अधिवेशनमा सबैभन्दा बढी दिन अनुपस्थित हुने सांसद बनेका छन् । उनी २५ वटा बैठकमा अनुपस्थित रहे ।
‘एकदिन बैठक बसेपछि कति दिन ग्याप हुन्छ । कहिले कता, कहिले कता पुगिएको हुन्छ, त्यस्तोमा जानै अल्छी लाग्छ,’ नागेन्द्र भन्छन् ‘म आफ्नै काममा हुन्छु । कार्यकर्ता भेटघाट, गृह जिल्ला आवतजावतजस्ता कामको व्यस्तताले पनि नियमित बैठकमा जान सकेको छैन ।’
यस्तै, तनहुँबाट नेकपा एमालेतर्फ समानुपातिक सांसदमा निर्वाचित कलिला खातुनलाई पनि सांसद बैठक खासै महत्त्वपूर्ण लाग्दैन । उनी प्रायः बैठकमा अनुपस्थित हुन्छन् । विशेष परिस्थिति, पार्टीले ह्विप जारी गरेको बैठक बाहेक अरू बैठकमा जान खातुन खासै रुचाउँदिनन् । आफ्नो अरू काम नभएको फुर्सदमा मात्रै संसद बैठकमा जाने गर्छिन् । उनी यस वर्षको अधिवेशनमा १७ पटक अनुपस्थित भइन् ।
जनता समाजवादी पार्टीकी समानुपातिक सांसद हुन्– रुही नाज । उनी सर्लाहीबाट निर्वाचित भएकी हुन् । उनी पनि प्रतिनिधिसभाप्रति उत्तरदायी छैनन् । यो वर्षको संसद अधिवेशनमा उनी ११ पटकभन्दा बढी अनुपस्थित भइन् ।
नागेन्द्र कुमार, कलिला खातुन, रुही नाज मात्रै होइन पछिल्लो समय धेरै सांसदलाई संसद्को बैठकप्रति रुचि देखिन छाडेको छ । बैठकमा जाँदै नजाने सांसदहको सङ्ख्या उल्लेख्य छ । एक चौथाइ सांसदहरूको उपस्थिति रहेसम्म बैठक सुचारु हुने व्यवस्था नियमावलीमा गरिएका कारण जेनतेन संसद्को बैठक अघि बढेको छ ।
एक चौथाइ भनेको न्यून सङ्ख्या हो । २ सय ६५ सदस्यीय संसदमा अहिले २ सय ६० सांसद कायम छ । त्यसको एक चौथाइ भनेको ६५ जना सांसद हो । तर, कहिलेकाहीँ यही ६५ जना अर्थात् एकचौथाइ पनि नपुगेर बैठक स्थगित गर्नुपर्ने बाध्यता हुने गरेको छ । कतिपय अवस्थामा यही गणपूरक सङ्ख्या नपुगेकै कारण बैठकअगाडि बढ्न नसकेका उदाहरण छन् ।
कतिपय सांसद बैठकमै जाँदैनन्, कतिपय गएर पनि हाजिर गरेर फर्कन्छन् । हाजिर भएपछि बैठकमा सहभागी नभए पनि १ हजार रुपैयाँ साधारण र १ हजार रुपैयाँ यातायात गरी दैनिक २ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ । मासिक पारिश्रमिकबाहेकको रकम हो यो । मासिक पारिश्रमिक भने बैठकमा सहभागी नभए पनि मिल्छ ।
अर्कोतर्फ विना जानकारी लगातार १० पटकभन्दा बढी पटक अनुपस्थित भएमा सांसद पद नै गुम्ने नियम छ । कतिपय सांसद यो कानुनबाट बच्न हाजिर लगाएर फर्कने गरेका छन् । कतिपय भत्ताकै लागी हाजिर गर्न संसद् सचिवालयमा पुग्ने र त्यसपछि फर्कन्छन् ।
संसद् भनेको मुलुकको विधि निर्माणको एक मात्रै थलो हो । विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा नजानु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति कतिसम्म उदासीन रहेछन् ? भन्ने उदाहरण शुक्रवार सभामुख अग्नि सापकोटाले पेस गरे ।
प्रतिनिधिसभाको बैठकमा धेरै सहभागी नहुने सांसदहरूको नाम उनले संसदमा पढेरै सुनाए । जसमा ११ भन्दा बढी सांसदका नाम थिए ।
जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । त्यस्तै नेपाली काङ्ग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ ।
नेकपा एमालेकी सांसद नबिना लामा १९ बैठकमा अनुपस्थित भएकी छन् । १७ बैठकमा अनुपस्थित भएकी छिन् सांसद कलिला खातुन । त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित भएका छन् ।
सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेशसिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् ।
संसद् बैठकमा सांसदहरूको उपस्थिति न्यून हुन थालेपछि जनतामा संसदीय व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको राजनीतिक विश्लेषक बताउँछन् ।
उनीहरु भन्छन्, ‘सांसदको प्रमुख जिम्मेवारी बैठकमा उपस्थिति र त्यसले दिएको भूमिका पूरा गर्नु हो । कस्ता कानुन कसरी बनाउने, तिनमा के-के मापदण्ड राख्ने भन्नेमा पनि सदस्यको ठूलो भूमिका हुन्छ । तर, उनीहरूले आफ्नो आवश्यकता महसुस गरेको पाइँदैन । यही कारण कतिपय पारित भएका विधेयक व्यावहारिक बन्न सकेका छैनन् । यसले संसदीय व्यवस्थामै प्रश्न उठेको छ ।’